• २ पुस २०८१, मङ्गलबार

सांस्कारिक शिक्षाको खाँचो

blog

कुनै पनि शिशु जन्मँदा खाली मगज लिएर जन्मन्छ । यो खाली मगजमा घरपरिवार, समुदाय तथा शिक्षालयले जे जस्तो ज्ञान, संस्कार तथा व्यवहार सिकायो उसको सोहीबमोजिमको सिकाइ हुन्छ । शिक्षाशास्त्री ओटावाका अनुसार नवजात शिशु जन्मँदा असामाजिक हुन्छ र उसलाई सामाजिक तथा मानवीय जीवनचर्यामा परिणत गर्ने काम घरपरिवार समुदाय, विद्यालयलगायतका निकायको हो । ओटावाले भने जस्तो बालबालिकलाई सामाजिक व्यक्ति एवं व्यक्तित्व निर्माण गर्नका लागि तत् अनुरूपको शिक्षादीक्षाको आवश्यकता पर्दछ भन्ने कुरा बुझ्नु पर्छ ।  

मानिसको शिक्षादीक्षाको प्रारम्भिक उद्गमस्थल घरपरिवार हो । घरपरिवारबाट सुसंस्कृत शिक्षा पाएका बालबालिका समाजमा सजिलैसँग घुलमिल हुन सक्छन् । उनीहरूको व्यक्तित्व सरल, शिष्ट, इमानदार तथा सामाजिक हुन्छ । यसरी हेर्दा अभिभावकले आफ्ना छोराछोरीलाई सानै उमेरदेखि असल व्यवहार सिकाउनुपर्ने हुन्छ । अभिभावकले आफ्ना छोराछोरीलाई सानैदेखि आफूभन्दा ठुलालाई आदर गर्न, सानोलाई माया गर्न, सहयोगी बन्न, आफ्नो काम आफैँ गर्न, सफासुग्घर हुन, समाजका मूल्यमान्यता र परम्परालाई बुझाउन र अभ्यासमा ल्याउन प्रभावकारी भूमिका खेल्नु पर्छ । 

शिक्षाविद् पेरे बोड्र्युले हरेक बालबालिकाको सिकाइमा उसको पारिवारिक तथा सामाजिक संरचनाले गहिरो प्रभाव पारेको हुन्छ भन्ने धारणा राखेका छन् । बोड्र्युको भनाइ अनुसार बालबालिकाको सिकाइमा पारिवारिक तथा सामाजिक वातावरणले ठुलो प्रभाव पारेको हुन्छ भन्ने हो । अभिभावक बाालबालिकाका प्रथम गुरु हुने भएकाले मानिसको जीवनमा घरपरिवारमा प्राप्त ज्ञानको गहिरो प्रभाव पर्छ । यसै गरी समाज मानिसको सिकाइको अनौपचारिक खुला पाठशाला हो । यो खुला पाठशालामा समाजका अग्रजबाट अथाह ज्ञान आर्जन भइरहेको हुन्छ । अग्रजको व्यवहार, रहनसहन, चालचलन, समाजिक मूल्यमान्यता तथा यिनीहरूको अभ्यासबाट नयाँ पुस्तामा ज्ञानको हस्तान्तरण हुन्छ । संस्कृति तथा संस्कारको पुस्तान्तरण हुन्छ ।  

हाम्रो देश बहुभाषिक, बहुधार्मिक, बहुसामुदायिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताले सजिएको देश हो । हरेक समुदायका आआफ्नै प्रकारका सामाजिक, सांस्कृतिक तथा साम्प्रदायिक मूल्यमान्यता छन् । आआफ्नै धर्म तथा धार्मिक अभ्यास छन् । घरपरिवारमा पारिवारिक मूल्यमान्यता, धर्मकर्मका साथै सामाजिक व्यवहारका आधारमा बालबालिकाले ज्ञान आर्जन गरिरहेका हुन्छन् । तथापि ज्ञान आर्जनको फराकिलो क्षेत्र भनेको शैक्षिक संस्था हुन् । विद्यालय हुन्, विश्वविद्यालय हुन् । यी शिक्षालयमा औपचारिक रूपमा निर्माण गरिएको पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण सिकाइका आधारमा ज्ञान आर्जन हुँदै जान्छ । यस कोणबाट हेर्दा देशको शिक्षा प्रणालीमा सांस्कारिक शिक्षाको अभाव देखिन्छ । यसर्थ सांस्कारिक शिक्षाको विषयवस्तुलाई विद्यालय तहदेखि विश्वविद्यालयसम्म समावेश गर्न आवश्यक छ । 

शिक्षालय समाजका प्रतिनिधि संस्था हुन् । व्यक्ति तथा समाजको निर्माणमा शिक्षालयको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षालय संस्कार तथा सांस्कारिक व्यवहार निर्माणका आधार हुन् । ज्ञानका मुहान हुन् । आचरण विकासका स्रोत हुन् । शील, स्वभाव, रहनसहन, धार्मिक, सांस्कृतिक तथा सामाजिक व्यवहार सिकाउने, बुझाउने तथा हस्तान्तरण गर्नेे मुख्य ठाउँ हुन् । तथापि कस्तो शिक्षा प्रदान गरी कस्ता नागरिक उत्पादन गर्ने भन्ने कुरा राज्यले अवलम्बन गरेको शिक्षा नीति, शिक्षाको उद्देश्य, पाठ्यव्रmम, पाठ्यपुस्तक, शिक्षण सिकाइ जस्ता कुराले निर्धारण गर्छन् । यसर्थ सभ्य समाज निर्माण गर्न सांस्कारिक शिक्षाको आवश्यकता हुन्छ । 

शिक्षालयमा औपचारिक पाठ्यक्रम र पाठ्यपुस्तकका माध्यमबाट शिक्षार्थीको ज्ञान आर्जन हुन्छ । पाठ्यक्रमविद् हिल्टा टावाले विद्यालयभित्र र बाहिर विद्यार्थीमा ऐच्छिक उपलब्धि प्राप्त गराउन विद्यालयद्वारा गरिने सम्पूर्ण प्रयासलाई पाठ्यक्रम भनेका छन् । पाठ्यक्रम समग्र शिक्षाको गोरेटो हो । यो गोरेटोको शैक्षिक यात्रामा प्राप्त ज्ञानका आधारमा शिक्षित नागरिक उत्पादन हुने हुँदा पाठ्यक्रमले व्यक्तिको सर्वाङ्गीण विकासमा ऊर्जाशील काम गर्नु पर्छ भन्ने मान्यता राखिन्छ । सर्वाङ्गीण विकास अन्तर्गत व्यक्ति आध्यात्मिक, सांस्कृतिक, नैतिक, बौद्धिक, सामाजिक, भाषिक, आर्थिक, सौन्दर्यात्मक तथा मानवीय गुण जस्ता कुरा पर्दछन् । उल्लिखित गुणले शिक्षित, दीक्षित तथा प्रशिक्षित नागरिक उत्पादन गर्न सांस्कारिक शिक्षाले महìवपूर्ण भूमिका खेल्छ । शिक्षितमा असल अनुशासन, जन्म दिने मातापिता र शिक्षा दिने गुरुको आदेश र उपदेशलाई शिरोधार्य गर्न सक्ने सकारात्मक सोचको विकास गर्न सांस्कारिक शिक्षा आवश्यक ठानिन्छ । 

राज्यले शिक्षामा ठुलो लगानी गरेको छ । देशमा हजारौँको सङ्ख्यामा विद्यालय तथा दर्जनौँको सङ्ख्यामा विश्वविद्यालय सञ्चालनमा छन् । यी शैक्षिक संस्थाबाट उत्पादित शिक्षित जनशक्ति सभ्य, शिष्ट, इमानदार, प्रजातान्त्रिक, लोककल्याणकारी, देशप्रेमी कर्मशील छन् त ? भन्ने कोणबाट हेर्दा सन्तोष हुन नसक्ने अवस्था रहेको विज्ञको कथन छ । सामाजिक अनुशासनको स्तर खस्कँदै गएको अग्रजको बुझाइ छ । समाजमा मेलमिलाप, आपसी सद्भाव तथा वसुधैव कुटुम्बकम्को अवस्था कमजोर बन्दै गएको छ । यस अर्थमा हाम्रो शिक्षाले असल संस्कार भएका शिक्षित उत्पादन गर्न नसकेको हो त भन्ने कोणबाट प्रश्न उठेका छन् । 

शिक्षाको एउटा सिकाइ सहनशीलता हो । विश्वप्रसिद्ध वैज्ञानिक हेलेन केलरले शिक्षाको उच्चतम सिकाइ सहनशीलता हो भनेकी छिन् । अहिले नेपाली समाज विभिन्न समूहमा विभाजित छ । राजनीति, भौगोलिक क्षेत्र, धर्म, जातजाति आदिमा समाज विभक्त भएको देखिन्छ । समाजमा मेलमिलापभन्दा बढी आलोचना तथा असझदारीको बढ्दो छ । समाजका घरपरिवारमा बेमेल हुर्कंदै गएको तथ्याङ्कले पुष्टि गर्दछन् । सम्बन्धविच्छेदका घटना बढिरहेका छन् । ज्येष्ठ नागरिकले कष्टकर जीवन जिउन बाध्य भएको स्थिति छ । शिक्षित छोराछोरीबाट नै बुवाआमा वृद्धाश्रममा लघारिएका घटना आइरहेका छन् । यसरी हेर्दा समाजमा बढ्दै गइरहेको असहिष्णुता र असमझदारी हटाई आपसी सद्भाव र कर्तव्यबोध गराउन सांस्कारिक शिक्षा आवश्यक ठानिन्छ । 

समाजका विभिन्न तह, वर्ग र क्षमताका जनतालाई आआफ्नो काम, कर्तव्यप्रति सचेत बनाउन सांस्कारिक शिक्षाले मद्दत गर्छ । सांस्कारिक शिक्षाले प्रजातान्त्रिक आचरणको निर्माण, लोककल्याणकारी भावनाको विकास एवं आफ्नो कर्तव्यको पालना गर्ने दायित्वबोध गराइदिन्छ । घरपरिवार, समुदाय र सिङ्गोमा राष्ट्रमा सकारात्मक सोच भएका नागरिक उत्पादन नभई सहिष्णु समाज निर्माण हुन सक्दैन । समाजमा आपसी सद्भाव, मेलमिलाप, सहयोग, सहकार्य, सहमतिको वातावरण सिर्जना गर्न, असल संस्कार, शिष्टता, नम्रता, इमानदारता तथा मानवीय गुणको बीजारोपण गर्नका लागि सांस्कारिक शिक्षाले प्रभावकारी भूमिका खेल्छ । 

अन्त्यमा देशको तहगत शैक्षिक पाठ्यक्रम तथा पाठ्यपुस्तकमा सांस्कारिक शिक्षाको विषयवस्तु समावेश गर्न आवश्यक छ । अहिले शिक्षालाई समय सापेक्ष बनाउनुपर्ने आवाज चौतर्फी उठेको छ । यस सन्दर्भमा राज्यले समयसापेक्ष शिक्षा अन्तर्गतको एउटा महत्वपूर्ण पक्ष सांस्कारिक शिक्षा हो भन्ने कुरालाई ध्यान दिनु पर्छ । राज्यले उत्पादन गर्ने नागरिक अनुशासित, सहिष्णु, कर्तव्यनिष्ठ, परोपकारी तथा सांस्कारिक मूल्यमान्यताले सुसज्जित हुन आवश्यक हुन्छ । यसका लागि सांस्कारिक शिक्षा निर्विकल्प सर्त हुनु पर्छ ।