• २९ मंसिर २०८१, शनिबार

कप्तान मल्लको विष्फोटक ब्याटिङमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

blog

जनकपुरविरुद्ध ब्याटिङ गर्नुहुँदै चितवनका कप्तान कुशल मल्ल ।

काठमाडौँ, मङ्सिर २९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामू जितका लागि एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनायो ।

उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिनुभयो । रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाउनुभयो । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान गर्नुभयो ।


जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिँदा हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एकरएक विकेट लिनुभयो ।