• ११ पुस २०८१, बिहिबार

‘ओ पेङ्दोर्जे’ लाई पहिचान पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २९ गते । पहिचान पुरस्कार कोषले २०८०/८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई प्रदान भएको छ । पुरस्कारको राशि चार लाख २,००२ रुपियाँ रहेको छ । शुक्रबार बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट स्याङ्तानको कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो ।

स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ सहित गिलु रातोसको ‘सिलिदुङ’, विश्व कुइँकेलको ‘गोपिचा’, मिथोचको ‘आगोको पिदार’, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजङ्ग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ अन्तिम सूचीमा परेका थिए ।

स्याङ्तानको कवितासङ्ग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र भएपछि आफ्नो पहिचानका लागि रगत पसिनाका साथै जीवन आहुति दिने तामाङ जाति र अन्य भुइँमान्छेले खेपेको शोषणका बारेमा बताएको छ । स्याङ्तानका कविताले आफ्नो पहिचान रक्षार्थ आन्दोलन, विद्रोह बोलेका छन् । विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल भएको छ । सांस्कृतिक जागरणको आह्वान गर्दै आफ्नो पहिचान रक्षाका लागि आवाज बुलन्द गरिएका छन् । विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिनुभयो  ।

कोषका बोर्ड अध्यक्ष सुवास राईले पुरस्कार आगामी चैत २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका–४ को सुन्दर चखियाडाँडामा वितरण गरिने जानकारी दिनुभयो । चैत २४ गते एकदिने ‘काव्य मुन्दुम पथ यात्रा’ गर्ने पनि कोषले जनाएको छ ।