• ४ पुस २०८१, बिहिबार

मदन भण्डारी ट्रमा सेन्टरमा नयाँ भवन बन्ने

blog

हरि कोइराला

उर्लाबारी, मङ्सिर २६ गते । मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा थप सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । 

कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको बजेटबाट पहिलो चरणमा करिब ३० करोड रुपियाँमा अस्पताल भवन निर्माण हुन लागेको हो । मोरङ १(१)मा प्रदेश सभा सदस्य उमाकान्त गौतमले  शहरी विकास तथा भवन कार्यालय मोरङबाट भवन निर्माणका लागि ठेक्का आह्वान भएको बताउनुभयो । 

चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माणका लागि प्रदेश सरकारले ९ करोड रुपियाँ विनियोजन गरेको छ । बहुवर्षीय योजनाका रुपमा काम गर्ने गरी आर्थिक मामिला मन्त्रालयबाट स्रोत सुनिश्चित गराएर सुविधासम्पन्न भवन निर्माणको प्रक्रिया अघि बढाइएको सांंसद गौतमले बताउनुभयो । सहरी विकास तथा भवन कार्यालय मोरङका प्रमुख सुरेन्द्र लिम्बूले फागुन पहिलो साताबाट निर्माणको काम सुरु हुने बताउनुभयो । 

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर कोशी प्रदेश सरकारले सञ्चालन गरेको सबैभन्दा ठूलो अस्पताल मानिन्छ । अस्पताललाई पूर्वाधार सम्पन्न बनाउन सरकारले ठूलो धनराशि खर्च गरे पनि अस्पतालले ट्रमा सेवा र सघन उपचार सेवा सञ्चालन गर्न सकेको छैन । सङ्घीय सरकारले ट्रमा सेवा र सघन उपचार सेवा सञ्चालन गर्न सम्पूर्ण उपकरणहरू उपलब्ध गराइसकेको छ । 

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता आस्था थापाले भन्नुभयो –सघन उपचार कक्ष सञ्चालनका लागि चार जना चिकित्सक सिफारिस भइसक्नुभएको छ। 

सम्पूर्ण पूर्वाधार ,उपकरण र जनशक्ति पूरा भएपछि सघन उपचार कक्ष सुरु हुन्छ । थापाले आइसियु सेवा सञ्चालन गर्ने विषय सजिलो नभएको बताउँदै उपकरण र पूर्वाधारसँगै जनशक्ति पनि उत्तिकै महत्वपूर्ण हुने जानकारी दिनुभयो । चिकित्सकहरू अस्पतालमा हाजिर हुनासाथ सघन उपचार कक्ष सुरु हुने प्रवक्ता थापाले बताउनुभयो ।