• २४ पुस २०८१, बुधबार

सडक विस्तार छिटो सक्न माग गर्दै चक्का जाम, ठेकेदारले तिर्यो आठ करोड

blog

बोमलाल गिरी

नवलपुर, मंसिर २२ गते। पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवलसडक खण्ड विस्तारको काम छिटो सक्न माग गर्दै स्थानीयले नवलपुरको कावासोती १६ डण्डामा आधा घण्टा चक्का जाम गरेर सडक अवरुद्ध गरेका छन्।

डण्डा बजार व्यवस्थापन समितिको नेतृत्वमा शनिबार आधा घण्टा सडक अवरुद्ध गरिएको हो। बजार व्यवस्थापन समितिका अध्यक्ष हरि केसीले ५ बर्ष अघिदेखि भत्काएर राखेका सडक अझै मर्मत नगरेको र कालो पत्रे गर्न ठिक्क परेको ठाउँमा पनि १ बर्षदेखि कालो पत्रे नगरेर धुलो उडाउने बनाएकोले सडक अवरुद्ध गरिएको बताउनुभयो।

उहाँले प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले डण्डाका स्थानीय र सडक विस्तारको जिम्मा लिएको चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिबीच छलफल गराउने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खुलाएको बताउनुभयो। तत्काल डण्डा आसपासको सडक कालो पत्रे नगरे पुनः आन्दोलनमा उत्रिने स्थानीयले चेतावनी दिएका छन्। 

प्रमुख जिल्ला अधिकारी पोख्रेलले यही हप्ता भित्र ठेकेदारलाई बोलाएर कुरा गर्ने बताउनुभएको छ। सरकारले नै दुईवटा विकल्प दिएर चिनियाँ ठेकेदारलाई चेतावनी दिइसकेकाले थोरै भए पनि काम गर्छकी भन्ने आशा पलाएको उहाँको भनाइ छ। 

सरकारले यही डिसेम्बर अन्तिमसम्म चार लेनमध्ये दुई लेन सडक सम्पन्न गरिसक्नु पर्नेछ  र सन् २०२५ मार्चसम्म पूरै बाटो एकतर्फी विस्तारको काम सक्नु पर्ने विकल्प दिएको छ। यी विकल्पअनुसार काम नभए ठेक्का सम्झौता तोड्ने नेपाल सरकारको चेतावनी छ।

आठ करोड भुक्तान

यसैबीच चिनियाँ ठेकेदार कम्पनीले नेपाली ठेकेदारलाई आठ करोड रुपियाँ भुक्तान गरेको छ। नेपाल रोडा, ढुंगा व्यवसायी समिति, नवलपुरका अध्यक्ष भोजेन्द्र रायमाझीले आठ करोड रुपियाँ भुक्तान गरेको र रोडा ढुंगा व्यवसायीको मात्र अझै ३५ करोड रुपियाँ भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो। 

चिनियाँ ठेकेदारले सडक खण्ड विस्तारका क्रममा प्रयोग भएका सामग्रीको रकम नदिएको भन्दै नेपाली उद्योगी व्यवसायीहरुले आन्दोलन गरेका थिए। क्रसर व्यवसायी र ढुंगा, गिट्टी, बालुवा सप्लायर्सले चिनीयाँ ठेकेदार कम्पनीको पश्चिम खण्डमा धर्ना दिएर १५ दिन भित्र रकम भुक्तान गर्न चेतावनी दिएका थिए। १५ दिनमा नदिए पनि झण्डै डेढ महिनामा यो रकम भुक्तान गरेको हो। 

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका उपाध्यक्ष रामु अधिकारीका अनुसार ढुंगा, गिट्टी र बालुवाका १३ वटा सप्लायर्स र क्रसर व्यवसायीको ७५ करोड, पेटी ठेकेदारको २० करोड र ढुवानीका लागि प्रयोग भएका एक्साभेटर सहितका सवारी साधनको ५ करोड गरेर १ अर्बभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको थियो। यसमा बिटुमिन र छडवालाले पाउनु पर्ने रकम नजोडिएको उपाध्यक्ष अधिकारीको भनाइ छ। 

हालसम्म पूर्वी र पश्चिम दुबै खण्ड गरेर झण्डै ५४ प्रतिशत भौतिक प्रगती भएको आयोजना प्रमुखहरुले जनाएका छन्। १ सय १३ किलोमिटर लामो सडक विस्तारको लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपियाँमा ठेक्का सम्झौता भएको थियो। गत साउन १० गते एक वर्षका लागि तेस्रो पटक थपिएको म्याद चार महिना बित्नै लाग्दा पनि सोचेअनुसार सडक विस्तार हुन सकेको छैन। 

२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो। सोही सम्झौताअनुसार २०७५ साल चैतमा बाटोको शिल्यान्यास गरिएको थियो।