• १३ साउन २०८१, आइतबार

नवनिर्वाचित प्रमुख र अध्यक्षको शपथ ग्रहण न्यायाधीशबाट– शुक्रबारदेखि नयाँ कार्यकाल सुरु

blog

नारद गौतम 

काठमाडौं, जेठ ५ गते । वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल भोलि जेठ ६ गतेबाट सुरु हुने भएको छ । कार्यभार सम्हाल्नुअघि नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ दिनुपर्ने कानुनी व्यवस्था छ । 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्नुहुन्छ, ‘‘नवनिर्वाचित जनप्रतिनिधिको नयाँ कार्यकाल भोलिबाट सुरु हुन्छ, त्यसबारेमा आयोगले निर्णय गरिसकेको छ । प्रमुख र अध्यक्षको शपथ ग्रहण जिल्ला न्यायाधीशबाट हुन्छ, शपथ लिएपछि प्रमुख र अध्यक्षले अरुलाई शपथ गराउनेछन् ।’’ 

शपथ लिएपछि प्रमुख र अध्यक्षले उपप्रमुख वा उपाध्यक्षसहित वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यलाई शपथ गराएर कार्यभार सुरु गर्ने जानकारी पनि प्रमुख आयुक्त थपलियाले दिनुभयो । 

कार्यभार सम्हालेको १५ दिनभित्र कार्यपालिकाका अन्य सदस्यको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । कार्यपालिकाको गठनसँगै नयाँ जनप्रतिनिधिले आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा गर्नुपर्ने हुन्छ । 

ज्योतिषी दीपक सुदेवीका अनुसार, शुक्रबार काठमाडौं उत्यकामा दिनको १२ बजेर १ मिनेटदेखि १ बजेर ४३ मिनेटभित्रको समय शपथ तथा पदभार ग्रहणका लागि बढी शुभ छ ।

आयोगको एकीकृत निर्वाचन परिणाम प्रणालीमा बिहीबार दिनको १२ बजेसम्म नगरप्रमुख १६५ र गाउँपालिकाका अध्यक्ष ३८७ गरी ५५२ जना पालिकाका प्रमुख निर्वाचित भइसकेका छन् । कुल ७५३ स्थानीय तहमध्ये अन्यमा मतगणना कार्य जारी छ । आयोगले जेठ ५ गतेसम्म मतगणना गरिसक्न निर्देशन दिए पनि मतगणना सक्न अझै केही दिन लाग्नेछ ।

मतपरिणाम ढिला आए पनि निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल पनि भोलिबाटै सुरु भएको मानिने छ । २०७४ सालको वैशाख, असार र असोजमा तीन चरणमा निर्वाचन भए पनि सबैको कार्यकाल आज जेठ ५ बाट सकिँदैछ । 

काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले भोलि १० बजेपछि शपथ ग्रहण हुने र कार्यभार सम्हाल्ने तयारी रहेको बताउनुभयो । 

ज्योतिषी दीपक सुवेदीका अनुसार, शुक्रबार काठमाडौं उपत्यकामा दिनको १२ बजेर १ मिनेटदेखि १ बजेर ४३ मिनेटभित्रको समय शपथ तथा पदभार ग्रहणका लागि बढी शुभ छ । उहाँले उपत्यका बाहिरकाले काठमाडौंको समयको अन्तरलाई ध्यानमा राखेर शपथ तथा पदभार ग्रहण गर्नु शुभ हुने सल्लाह दिनुभयो । 

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, वैशाख ३० गते भएको मतदानबाट कुल ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् । कार्यपालिका सदस्य तथा जिल्ला समन्वय समितिको निर्वाचनपछि स्थानीय तहका जनप्रतिनिधिको कुल सङ्ख्या झण्डै ४१ हजार पुग्नेछ । 

सङ्घीय लोकतान्त्रिक संविधान जारी भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । लोकतन्त्रमा आवधिक निर्वाचनलाई महत्वपूर्ण मानिन्छ ।