• १३ साउन २०८१, आइतबार

मायादेवीमा काँग्रेस र रोहिणी गाउँपालिकामा जसपा विजयी

blog

कवीन्द्र नेपाल
मणिग्राम (रुपन्देही), जेठ ५ गते ।
रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकामा पुनः नेपाली काँग्रेसले जित निकालेको छ । मायाँदेवी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका ध्रुवनारायण चौधरी निर्वाचित हुनुभएको हो ।

अघिल्लो निर्वाचनमा पनि मायादेवीमा काँग्रेसले जितेको थियो । २०७४ को स्थानीय निर्वाचनमा पनि चौधरी नै गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित चौधरीले पाँच हजार ३८६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरले चार हजार ९८८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्मदादेवी उपाध्याय विजयी हुनुभएको छ । उहाँले चार हजार ९४२ मत प्राप्त गर्दै नेपाली काँग्रेसकी उम्मेदवार तारादेवी यादवले चार हजार ८८९ मत प्राप्त गर्नुभयो ।

मायादेवी गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा पलटु लोध (एमाले), २ मा अगनु यादव (काँग्रेस), ३ मा मोहम्मद रफिक खान (काँग्रेस), ४ मा अरुणकुमार तिवारी (एमाले), ५ मा तेजनारायण पाल (काँग्रेस), ६ मा अवधराज यादव (लोसपा), ७ मा शैलेन्द्रकुमार पाण्डे (लोसपा) र वडा नं. ८ मा चोकबहादुर मगर (एमाले) निर्वाचित हुनुभएको छ ।

रुपन्देहीकै रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ । रोहिणी गाउँपालिकाको अध्यक्षमा जसपाका विद्याप्रसाद यादव विजयी हुनुभएको हो । अध्यक्षमा निर्वाचित यादवले सात हजार ४९६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले छ हजार ४५८ मत प्राप्त गर्नुभयो ।

गाउँपालिकाको उपाध्यक्षमा भने राप्रपाले जित निकालेको छ । राप्रपाकी उम्मेदवार शिवकान्ती चमारले छ हजार १५४ मत प्राप्त गरी दोस्रो कार्यकालको लागि उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ यस अगाडि पनि गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाकी रिमा मिश्राले पाँच हजार ९०२ मत प्राप्त गर्नुभयो ।

राहिणी गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा आविद अलि (राप्रपा), वडा नं. २ मा करम हुसेन (काँग्रेस), ३ मा वीरबहादुर क्षेत्री (राप्रपा), वडा नं. ४ मा तारानाथ यादव (राप्रपा), ५ मा घनश्यामसिंह क्षेत्री (जसपा), ६ मा इन्द्रमान चौधरी (काँग्रेस) र वडा नं. ७ को अध्यक्षमा आन्नान अहमद (राप्रपा) निर्वाचित हुनुभएको छ ।