• २७ वैशाख २०८१, बिहिबार

नौतले दरबारको पुनर्निर्माण पुनः सुरु

blog

काठमाडौँ, जेठ ५ गते  । दुई वर्षदेखि ठप्प रहेको काठमाडौँ वसन्तपुर क्षेत्रको नौतले दरबार पुनर्निर्माण पुनः सुरु भएको छ । कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक र कामदार टोली नेपाल आएसँगै काम सुरु भएको हो ।

हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले दरबार पुनर्निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका प्राविधिकले काम थालेको जानकारी दिनुभयो । पुनर्निर्माणको जिम्मा ‘चाइनिज एकेडमी अफ कल्चरल हेरिटेज’ ले पाएको छ ।

उहाँका अनुसार २०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीभन्दा पहिला नै चिनियाँ प्राविधिक स्वदेश फर्केका थिए । त्यस बेलादेखि नै पुनर्निर्माणको काम ठप्प थियो । २०७२ सालमा गएको भूकम्पले दरबार क्षतिग्रस्त भएको थियो ।

दरबारको मुख्य संरचनाको पुनर्निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको बताउँदै उहाँले अब भित्री भागको अन्तिम काम बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाहिरी काममा बाँकी रहेको छानाको काम सकेर ‘स्काप होल्डिङ’ (फलाम र बाँसका भ-याङ)हरू खोलिन्छ र भित्री काम सुरु गरिन्छ ।’’ 

प्रमुख खनालले छ महिनाभित्र काम सकिने जानकारी दिनुभयो । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको सो दरबार निर्माणको अवधि २०७९ को कात्तिक (सन् २०२२ को नोभेम्बर) सम्म रहेको छ । चिनियाँ येन दस करोडमा पुनर्निर्माण भइरहेको छ ।

विक्रम संवत् १८२६ देखि १८३० सम्म पृथ्वीनारायण शाह र उहाँका छोरा प्रतापसिंह शाहले नौ तले दरबारको निर्माण गर्न लगाउनुभएको थियो । वसन्तपुरको सो ठाउँमा मल्लकालदेखि नै दरबार रहेको इतिहास छ । २०७३ असोज १३ गते नेपाल र चीनबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो ।

पुरातत्त्व विभाग र चिनियाँ प्राविधिकको संयुक्त टोलीले उक्त दरबारको पुनर्निर्माणको डिजाइन गरेको थियो । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २०७४ साउन ३१ गते वसन्तपुर दरबार क्षेत्रस्थित नौतले दरबार पुनर्निर्माणको संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो ।