• १२ मंसिर २०८१, बुधबार

राष्ट्रपति पौडेलद्वारा कलाकारहरू सम्मानित

blog

राष्ट्रपति रामचन्द्र पौडेल सम्मानित कलाकारहरुका साथमा । तस्बिर : सागर बस्नेत/गोरखापत्र

काठमाडौं, मङ्सिर १२ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रबन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न आग्रह गर्नुभएको छ । 

चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो– ‘नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रबन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्रलाई पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न यस अवसरमा सबै कलाप्रेमी महानुभावहरूलाई आह्वान गर्दछु । यसमा नेपाल सरकारले आवश्यक नीति, नियमसहित पर्याप्त पूर्वाधार र स्रोतसाधन जुटाउन सहयोग गर्ने मैले विश्वास लिएको छु ।’ 

राष्ट्रपति पौडेलले ठुला ठुला विषयवस्तु भन्दा गाउँ समाजमा देखिएका स–साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्ना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताउनुभयो । 


उहाँले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नवीनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाइमा पुर्‍याउने बताउनुभयो । 

उहाँले चलचित्र चेतना, शिक्षा र नवीन सोचको द्योतक भएको बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नैतिक शिक्षा र सामाजिक न्यायको सन्देश दिने खालको चलचित्र निर्माणतर्फ तपाईँहरूको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो–‘चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यममात्र नभएर यो हाम्रै समाज, जीवन र जगतलाई जीवन्त ढङ्गले अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि हो ।  यसका कथा र प्रस्तुतिमा मानिसका भोगाइ र समाजका यावत क्रियाकलाप प्रतिबिम्बित भएको हुन्छ । तसर्थ, यो समाजको ऐना पनि हो । आधुनिक युगमा चलचित्र कुनै पनि समाजको संस्कृति, पहिचान र विविधतालाई देश तथा विदेशमा सहजै पुर्‍याउने माध्यम बनेको छ । यसबाट हामीले पनि लाभ लिन जरुरी छ ।’ 

उहाँले चलचित्र र मनोरञ्जन क्षेत्रमा देखापर्ने विकृति र विसङ्गतिलाई नियमन गर्न नियामक निकायकारुपमा रहेको विकास बोर्डलगायतका निकायहरूले उचित कदम अगाडि बढाउन जरुरी रहेको बताउँदै भन्नुभयो–‘यस क्षेत्रमा प्रतिभाशाली जागरूक युवाहरूलाई अवसर दिन, राम्रा चलचित्र बनाउने र राम्रो अभिनयलाई उत्प्रेरित गर्नेतर्फ विकास बोर्डको ध्यान सदैव केन्द्रित हुनुपर्छ ।’ 

सो क्रममा राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट अभिनेत्री चैतीदेवी सिंहलाई ३ लाख ७५ हजारसहित प्रमाणपत्र  प्रदान गर्नुभएको थियो ।  कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधाका पुरस्कार वितरण गरिएको जानकारी राष्ट्रपतिको सचिवालयले जनाएको छ ।