• २१ पुस २०८१, आइतबार

रोकिएको आइपीओ निष्काशन चाँडै सुरु हुन्छ : अध्यक्ष श्रेष्ठ

blog

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठ

काठमाडौं, मङ्सिर १२ गते । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनुभएको छ । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशनबमोजिम अघि बढ्ने बताउनुभयो ।

उहाँले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गर्नुभयो । उहाँले धितोपत्र बोर्डको अध्यक्षविहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौती रहेको उल्लेख गर्नुभयो ।

‘‘नयाँ स्टक एक्सचेन्जको सवालमा म स्पष्ट छु । नेपाल सरकारको नीति निर्देशन जे हुन्छ । त्यहीअनुसार अगाडि बढ्ने हो । धेरै विषयहरु अगाडि बढेको स्थिति छ । सरकारले गठन गरेको समितिले सुझाव बुझाएको अवस्था छ । अब सरकारको के निर्देशन आउँछ । त्यही अनुरुप अगाडि बढ्ने हो । आइपीओ निष्कासनको विषयमा साथीहरुसँग वस्तुस्थिति बुझ्छु ।,’’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ । स्थायी नेतृत्व नहुँदा आईपीओ रोएिको थियो । त्यो समस्या समाधान हुँदै जान्छ । मेरो कार्यकालमा मैले धितोपत्र बोर्डको आफ्नै भवन पहिलो प्राथमिकतामा छ ।’’

अध्यक्ष श्रेष्ठले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पुँजीबजार विकासको काम गर्ने बताउनुभयो । उहाँले बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरु अगाडि बढाउने जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले पुँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा शेयर लगानीकर्ताहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्न कोशिस गर्ने बताउनुभयो ।

‘‘धितोपत्र बोर्डको अध्यक्षविहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारी सम्हाल्न आइपुगेको छु । बोर्डमा ठुलो जिम्मेवारीका साथ आएको छु । चुनौती धेरै छन् । नेतृत्वको अभावमा अड्किएका कामहरु त्यत्तिकै छन् । मैले विशेष गरेर पुँजीबजारको भुमिका र दायरा बढाउँदै लैजानुपर्छ ।,’’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘लगानीकर्ताहरुको सुरक्षा पहिलो प्राथमिकता हो । पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । त्यसको हामीले सदुपयोग गर्न सकिरहेका छैनौं । पुँजीबजारलाई अत्याधिक रुपमा प्रयोग गर्नसक्छौं । यिनै विषयलाई प्राथमिकताका साथ काम गर्ने उद्देश्यले जिम्मेवारीमा आएको छु ।’’

उहाँले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउने गरी काम गर्ने बताउनुभयो । उहाँले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गर्नुभयो ।

उहाँले पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा लाग्ने र पुँजीबजारलाई वर्तमान समयसापेक्ष अगाडि बढाउने उल्लेख गर्नुभयो । अध्यक्ष श्रेष्ठले एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गर्नुभएको छ ।