• २ माघ २०८१, बुधबार

धनुषाधाम-१ का उम्मेदवार घरदैलो अभियानमा

blog

घरदैलो अभियानमा उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, मङ्सिर ११ गते । धनुषाको धनुषाधाम नगरपालिका-१ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उपनिर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा उम्मेदवारहरु घरदैलो अभियानलाई तीव्रता दिएका हुन् । 

मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत धनुषाधाम वडा नम्बर १ को वडाध्यक्ष पदमा कांग्रेस, एमाले, माओवादी, जनमतलगायत विभिन्न दलका प्रतिनिधिसहित स्वतन्त्र उम्मेदवार गरी २१ जना चुनावी प्रतिस्पर्धामा छन् । 

यसअघिका वडाध्यक्ष विश्वनाथ यादवको निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो । उहाँ नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्थ्यो । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाधामका निर्वाचन अधिकृत चूडामणि खडकाले २१ जना उम्मेदवारमध्ये एक जनाले मनोनयन फिर्ता लिएको बताउनुभयो। वडामा तीन हजार २४० मतदाता रहेको बताउँदै उहाँले तीन वटा मतदान केन्द्रमा चार वटा बुथ रहने जानकारी दिनुभयो । 

वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट अशोककुमार मण्डल, नेपाल कम्युनिस्ट पार्टी एमालेबाट प्रमोद यादव, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट सुनिल कापर, एकीकृत समाजवादी पार्टीबाट गोपाल साह सुडी, जसपा नेपालबाट अजयकुमार यादव, जनमत पार्टीबाट कुशेश्वर मण्डल बहुजन एकता पार्टीबाट नेपालबाट प्रमिलाकुमारी सदा, नेकपा एकीकृत मालेबाट प्रमोद यादव, राप्रपाबाट फौदार सादा मुसहर, रास्वपाबाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेवसिंह दनुवार, राजपा नेपालबाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिनुभएको छ । 

यस्तै, स्वतन्त्रबाट दिलीपकुमार ठाकुर, नरेश सादा, हुकुम सिंह, सञ्जयकुमार यादव, सञ्जितकुमार यादव, रविकुमार मण्डल, विनोदकुमार यादव, विनोद मण्डल र विशेश्वर मण्डल छन् ।