सुधा देव
भारदह(सप्तरी),पुस ७ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा न १ र २ बालविवाह मुक्त वडा घोषणा गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहका बिच पालिकाका दुईवटा वडालाई बालबिवाह मुक्त घोषणा गरिएको हो ।
बालबालिकाको अधिकार संरक्षण र सुरक्षित भविष्य निर्माणतर्फ महत्त्वपूर्ण कदम चाल्दै स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, महिला समूह, बाल क्लब तथा विभिन्न सरोकारवालाको सहभागितामा सामूहिक प्रतिबद्धतासहित बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
बालविवाह सामाजिक अपराध भएकाले बालविवाह अन्त्यका लागि कानुन मात्र नभई समुदायको चेतना र सक्रियता आवश्यक भएको अध्यक्ष मण्डलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने र यसको अन्त्यका लागि समुदायको भूमिका निर्णायक हुने भएकाले बालविवाह हुन नदिन वडा स्तरबाट निरन्तर अनुगमन, जनचेतना अभिवृद्धि र सम्बन्धित निकायसँग सहकार्य गरिने छ ।’’
कार्यक्रममा बालविवाहसम्बन्धी कानुनी प्रावधान, यसका दीर्घकालीन असर तथा रोकथामका उपायबारे जानकारी समेत गराइएको थियो । साथै बाल क्लब तथा विद्यार्थीहरूले चेतनामूलक अभिनय प्रस्तुत गरेका थिए ।
सहभागीहरूले बालविवाह नगर्ने र देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउने सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे । कार्यक्रमका बालविवाहसम्बन्धी कानुनी प्रावधान, यसको सामाजिक असर तथा रोकथामका उपायबारे बालक्लब तथा विद्यालयका विद्यार्थीहरूले चेतनामूलक नाटक प्रस्तुत गरे ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्ण, वडा नम्बर २ का वडा अध्यक्ष कमल कुमार मण्डल, बाल कल्याण अधिकारी शैलेन्द्र कुमार सिंहलगायत स्थानीय तहका प्रतिनिधि, विद्यालयका शिक्षक,विद्यार्थी, महिला समूह, अभिभावक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले उपस्थिति रहेको थियोे ।
यसैबिच विष्णु गाउँपालिकाको वडा नं १, २, ३, ४, ६ र ७ वडा बालविवाह मुक्त वडा घोषणा गरेको छ । यसअघि जिल्लाको सुरूङ्गा, खड्क नगरपालिका र छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा भइरहेको छ ।