• ११ मंसिर २०८१, मङ्गलबार

फुढाहाङलाई बिदाई गरी मनाइयो पापानी चाड

blog

धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा मनाइयो पापानी चाड । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे
हिले, मङ्सिर ११ गते ।
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरुको पापानी चाड सम्पन्न भएको छ । कात्तिक पूर्णिमा पछिको पहिलो मङ्गलबारदेखि नयाँ वाली भित्र्याएको खुशीयालीमा धनकुटाका खाल्सा क्षेत्रमा पापानी मनाउने गरिन्छ । यो चाड आजबाट आफ्ना कुल देवता फुढाहाङलाई पुजाआजागरी बिदाइ गरेसँगै विधिवत रुपमा सम्पन्न भएको हो ।

चाड सुरु भएपछि मुन्धुम विदले फुढाहाङ (कुल देवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुल देवता र पितृको पूजा गर्दै निरन्तर ६ दिन ६ रातसम्म नाचगान गरी पापानी मनाउने गरिएको छ । आफ्नो मनोकामना पुराहोस् भनेर एक जोडी परेवा उडाएर फुढाहाङलाई सम्झने गरिन्छ ।

पापानी पर्वमा किरात राईहरुले कुलदेवता खुढाहाङको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै नाच्ने गरिन्छ । यो नाच एक अर्कोसँग कुम जोडेर बाजाको ताल अनुसार तीन पाइला अघि र तीन पाइलापछि सरी नाचिन्छ । यो पर्व कुल देवता र पितृको पूजा गर्दै मनाउने चलन रहेको सहिदभुमी गाउँपालिका ६ आँखिसल्लाका डिल्लीराज राई बताउनुहुन्छ ।

एक हप्ता सहिदभूमि गाउँपालिकाको खोकु, छिन्ताङ र आँखिसल्लाका गढी गढीमा फरक फरक दिन मेला लाग्ने गरेको छ । सोही मेलामा पापानी नाच्ने र गाउने गरिएको छ । विभिन्न स्थानमा वसोवास गर्ने छ्युलुङ र नाम्चाहाङ पाछाका राई समुदायका व्याक्तिले यो चाड मनाउने गरेको स्थानीय नरेन्द्र राई ‘कस्चीत’ बताउनुहुन्छ ।

सहिदभूमि गाउँपालिकामा राई समुदायको बाहुल्यता छ । यहाँको कुल जनसङ्ख्यामध्ये करिव ८० प्रतिशत राई समुदायको वसोवास रहेको छ । वसोवास रहेकामध्ये करीव ५० प्रतिशत राईहरुले यो पर्व मनाउछन् । पछिल्लो समय यो पर्व र स्थानीय मेला बाहिरबाट अवलोकनका लागि आउने व्याक्तिहरुको सङ्ख्या वर्षेनी बढ्दो छ । तर यहि पर्व मनाउने तथा पापानी नाच्नेहरुको सङ्ख्या भने वर्षेनी घट्दो छ । स्थानीय मौलिकता कला संस्कृति जागाउनु अहिलेको समयको माग भएकाले यो संरक्षण तर्फ सबैले ध्यान दिनुपर्ने स्थानीयको माग छ  ।