• १२ पुस २०८१, शुक्रबार

विपन्न विद्यार्थीहरूलाई लक्षित छात्रावासको शिलान्यास

blog

सन्तोष सुवेदी

कास्की, मङ्सिर १० गते । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासीय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरूलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार शिलान्यास गरिएको हो।

पोखरा महानगरपालिका २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासीय छात्रावासको सोमबार कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले एक समारोहकाबिच शिलान्यास गर्नुभएको हो ।

सांसद मन बहादुर गुरुङले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममार्फत अगाडी बढिरहँदा हाल आएर गरिब विद्यार्थीहरूलाई लक्षित गरी आवासीय छात्रावास निर्माणको थालनी गर्नु आफैँमा श्रहानिय काम भएको बताउनुभयो । छात्रावास निर्माणको लागि आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने र आफूले नेपाल सरकारको विभिन्न मन्त्रालयहरू र विभागहरूमा समेत उक्त योजनालाई अगाडी बढाउन पहलकदमी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सरकारले गर्नुपर्ने काम युनाईटेड क्लबले गरिरहेको बताउँदै गुरुङले युनाईटेड क्लबको हरेक क्रियाकलापमा आफ्नो सहयोग रहने समेत बताउनुभयो ।

क्लबका संस्थापक अध्यक्ष तथा युनाईटेड आवासीय छात्रावास निर्माण समिति संयोजक हिमालय बख्रेलले युनाईटेड क्लबका परियोजनाको रूपमा आवासीय छात्रावास निर्माण गर्न लागिएको र यसका लागि तीनै तहको सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । करिब ४ करोड लागतमा निर्माण हुने उक्त आवासीय भवन निर्माणका लागि सरकारी, विभिन्न निकाय, सङ्घसंस्था तथा व्यक्तिको सहयोग आवश्यक रहने बख्रेलको भनाई रहेको थियो । 

आठ रोपनी क्षेत्रफलमा निर्माण हुने छात्रावास १० कोठाको रहने र ५० जना विद्यार्थीलाई राख्न मिल्ने बताउँदै बख्रेलले पहिलो वर्ष ४ कोठाको भवन निर्माण सम्पन्न गरी विद्यार्थी राख्ने र वर्षै पिच्छे निर्माणको कामलाई जारी राख्दै प्रोजेक्ट सम्पन्न गर्ने बताउनुभयो ।