काठमाडौँ, मङ्सिर ९ गते। महिला हिंसाविरुद्ध १६ दिने अभियानमा महिला पुनर्स्थापना केन्द्र, ओरेक नेपालले जनचेतनामूलक सडक प्रदर्शन गर्दैछ।
आरेक नेपालका कार्यकारी निर्देशक सुनीता मैनालीका अनुसार सोमबार बिहान ७ः३० बजे भृकुटीमण्डप परिसरमा र्याली प्रदर्शन सुरु गरी १६ दिने अभियानको औपचारिक सुरुवात हुनेछ।
महिलाविरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका पूर्व सन्ध्याको अवसरमा महिला हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषीको विमोचन तथा मानव अधिकारकर्मी, समूह, सञ्जालको ऐक्यबद्धतासहितको बृहत् सडक भेला गरिने उहाँको भनाइ छ।
भेलामा महिला तथा बालिकामाथि भएको विभेद र हिंसालाई प्रतिकात्मक गर्न नाटक, दृश्यात्मक चित्रहरू, प्लेकार्ड प्रस्तुत हुनेछ।
उहाँले आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ५०७ वटा बलात्कारका घटना प्रहरीमा उजुरी परेको भन्नुहुँदै न्याय प्रक्रियामा विभिन्न चुनौती देखा परेको बताउनुभयो।
सन् १९६० मा डोमेनिकल गणतन्त्रका त्रुजिलो तानासाही सरकारले मिरावेल परिवारका तीन दिदीबहिनीको निर्मम हत्याको विरोध स्वरूप अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको थियो।