• ९ मंसिर २०८१, आइतबार

जिल्ला अस्पतालको अक्सिजन प्लान्टमा समस्या

blog

जिल्ला अस्पताल रुम्जाटार ओखढुङ्गाको अक्सिजन प्लान्ट । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, मङ्सिर ९ गते ।
 जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गाको अक्सिजन प्लान्टमा समस्या आएको छ । विगत आठ महिना अघिदेखि अस्पतालको अक्सिजन प्लान्टमा समस्या आएको हो । अस्पतालको अक्सिजन प्लान्टमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका छन् । अक्सिजन प्लान्टको अक्सिजन भर्ने यन्त्रमा समस्या आएको अस्पताल प्रमुख डा. साजन दुवालले बताउनुभयो ।

अक्सिजन उत्पादन भए पनि उक्त यन्त्रमा समस्या आउँदा सिलिण्डरमा भर्न नमिल्ने समस्या भइरहेको डा. दुवालको भनाइ छ । प्लान्टमा समस्या आउँदा दमका बिरामी र उपचारको क्रममा अक्सिजन दिनुपर्ने बिरामीलाई समस्या हुने गरेको जानकारी उहाँले दिनुभयो ।

अस्पतालको अक्सिजन प्लान्टमा समस्या आएको विषयमा प्रदेश सरकारलाई जानकारी गराई मर्मतका लागि पटक–पटक आवश्यक बजेट माग गरिएको भए पनि आठ महिना बित्दा पनि मर्मको व्यवस्था नभएको डा. दुवालले जानकारी दिनुभयो । प्लान्टमा समस्या आउँदा दमका बिरामी र उपचारका लागि अक्सिजन आवश्यक पर्ने बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ ।