• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगरपालिका वडा ३ र ५ मा एमालेका उम्मेदवार विजयी

blog

काठमाडौं महानगरपालिका वडा नं. ३ र ५ मा निर्वाचित अध्यक्षद्धय प्रेम थापा र विरेन्द्र प्रजापति । तस्विरः गोरखापत्र

काठमाडौं, जेठ  ४ गते । काठमाडौं महानगरपालिका वडा नं. ३ र ५ मा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ  । वडा ३ मा एमालेका प्रेम थापा २१ सय ३८ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेश अधिकारीले १४ सय ९१ मत प्राप्त गर्नुभयो । 

निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार नेकपा (एकीकृत समाजवादी) का दीपक केसीले ९६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेश्वर पौडेलले  ५२९ र स्वतन्त्र उम्मेदवार ध्रुव थापा क्षेत्रीले ३१ मत ल्याउनुभयो ।

सो वडामा महिला सदस्यमा एमालेका सीता थापा, दलित महिलामा एमालेकै शर्मिला परियार, सदस्यद्वयमा एमालेका केशव प्रसाद श्रेष्ठ र कृष्णराज चालिसे  निर्वाचित हुनुभएको छ । महानगरको वडा नं. ५ को अध्यक्षमा वीरेन्द्र प्रजापति १८ सय १८ मतसहित निर्वाचित हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रमेश डङ्गोलले १५ सय ७५ मत ल्याउनुभयो ।

राप्रपाका भिन्दयो प्रजापतिले २१२, नेपाल मजदुर किसान पार्टीका कुल नारायण डङ्गोलले २५ मत प्राप्त गर्नुभयो । सो वडाको महिला सदस्यमा काँग्रेसका  मीना सिंह, दलित महिलामा एमालेका आरती सुनार, सदस्यद्वयमा एमालेका हरिबहादुर महर्जन र काँग्रेसका विजय कर्माचार्य  निर्वाचित हुनुभएको छ ।