• ५ मंसिर २०८१, बुधबार

नेपाल एक चीनको सिद्धान्तमा अडिग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ५ गते । राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे र जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बातरबिच भेटवार्ता भएको छ । 

चीनको औपचारिक भ्रमणमा रहनुभएकी उपाध्यक्ष घिमिरे र बातरबिच मङ्गलबार बेइजिङमा भेटवार्ता भएको हो । उपाध्यक्षको सचिवालयका अनुसार भेटवार्तामा घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिरहेको स्पष्ट पार्दै नेपालको भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रतिबद्धता बलियो र स्पष्ट छ, हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता दोहो¥याउन चाहन्छौँ ।”

उहाँले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःसर्त सम्मानको नेपालले कदर गर्ने उल्लेख गर्नुभयो । सो क्रममा उपाध्यक्ष बातरले चीन नेपालमा राजनीतिक स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै नेपालमा दैवीप्रकोपमा भइरहेको सहयोग, पूर्वाधार निर्माण, पर्यटन तथा कृषि क्षेत्रको आधुनिकीकरणमा सघाउन कुनै कन्जुस्याइँ नहुने प्रतिबद्धता जनाउनुभयो । 

पोखरा र भैरहवा विमानस्थलमा सिधा उडानका लागि परामर्श भइरहेको बताउँदै उपाध्यक्ष बातरले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेकाले सो रेलमार्ग निर्माणका लागि नेपाल सरकारले नै वातावरण बनाउन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।