• ३ मंसिर २०८१, सोमबार

पाठशालाबाट मलशालासम्म : शेषरामको प्रेरणादायी कदम

blog

भर्मि मल उत्पादक शेषराम चौधरी । तस्बिर : जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु, मङ्सिर ३ गते ।
 चार दशक लामो शिक्षण यात्राको अन्त्यपछि जैविक मल उत्पादनतिर लागेका कपिलवस्तु बुद्धभूमि नगरपालिका–९ बकुलीपुरका शेषराम चौधरी अहिले कृषकहरूका लागि उदाहरण बन्नुभएको छ ।

२०३७ सालबाट शिक्षण पेसामा लाग्नुभएको चौधरी जनकल्याण माविमा अङ्ग्रेजी शिक्षक तथा सहायक प्रमुख अधिकारीको रूपमा कार्यरत हुनुहुन्थ्यो । बहु भाषी शिक्षाका लागि प्राथमिक तहका पुस्तक (सन्दर्भ सामग्री) लेख्ने उहाँले सन् २०७४ मा सेवा निवृत्त हुनुभएको थियो । त्यसपछि क्याम्पसमा प्राध्यापन गर्न तथा प्राचार्यको जिम्मेवारी स्विकार्न पटक–पटक प्रस्ताव आए, तर उहाँको मन त्यसमा गएन । नयाँ सोच र उत्साहका साथ जैविक मल उत्पादनमा हात हाल्नुभयो ।

शेषरामलाई जैविक मलको सम्भावनाबारे जानकारी युट्युबबाट भयो । तीन वर्षअघि एक लाख रुपियाँको लगानीमा गँड्यौला किनेर व्यवसाय सुरु गर्नुभयो । अहिले वार्षिक १५ टन मल उत्पादन गर्न थाल्नुभएको छ ।

“सुरुमा सानो लगानीमै सुरु गरेको यो कामले अहिले राम्रो आम्दानी दिन्छ,” उहाँले भन्नुभयो । गोबर र कुहिने जैविक पदार्थबाट उत्पादित भर्मि कम्पोस्ट मल, भर्मीवास (झोल मल) र वेस्ट डी–कम्पोजर जस्ता मलमा नाइट्रोजन, फस्फोरस, क्याल्सियमजस्ता महत्त्वपूर्ण तत्त्व पाइन्छ । जसले माटोलाई स्वस्थ राख्न मद्दत गर्छ । भर्मीवास जैविक विषादी र मल दुवैको रूपमा प्रयोग गर्न सकिन्छ । एक लिटर भर्मिवासमा मा १० देखि १५ लिटर पानी मिसाई प्रयोग गर्न सकिन्छ ।

“सुरुमा केही कृषि सामग्री चाहिने भएकाले एक लाख रुपियाँको गँड्यौला किने । ५० हजार अन्य संरचना बनाउन लाग्यो । अहिले कपिलवस्तु र छिमेकी जिल्लाका किसानहरूबाट मलको माग गर्छन् । हाम्रो फर्मको मल वातावरणमैत्री र गुणस्तरीय भएकाले टाढाको जिल्लाहरूबाट पनि माग आउन थालेको छ,” चौधरीले भन्नुभयो ।

चौधरीले एक, दुई, पाँच केजीका प्याकेजका साथै २५ र ४० केजीको बोरामा पनि उपलब्ध गराउनुहुन्छ । जसको मूल्य प्रति केजी ३० रुपियाँ राखिएको छ ।

गँड्यौला मल प्राङ्गारिक खेतीका लागि अति उपयुक्त मानिन्छ । यसमा रहेका पोषक तत्त्व पानीको प्रवाहले पखाल्दैन । मलमा नाइट्रोजन, फस्फोरस, क्याल्सियम, म्याग्नेसियम, फलाम, मोलिब्डेनम, गन्धक जस्ता तत्त्वको मात्रा अन्य मलभन्दा प्रशस्त मात्रामा पाइन्छ । यो मलले माटोमा रहेका पोषक तत्त्वहरूलाई घुलनशील बनाउँछ, जसले गर्दा बिरुवाले सजिलै तिनीहरूलाई प्राप्त गर्न सक्छन् ।

गँड्यौला मल बनाउँदा केही विशेष ध्यान दिनुपर्ने कुरा पनि छन् । “लसुन, प्याज, मासुजस्ता कुहिन नचाहिने पदार्थ गँड्यौलाको बेडिङमा राखिँदैन । यसले मलको गुणस्तरमा असर पर्छ । गँड्यौलाले फोहर खाएर दिसा गर्दछ त्यो दिसा नै मल हो । मल उत्पादनका लागि इपिजेइक प्रजातिका गँड्यौला प्रयोग गरिन्छ । चौधरीले सो प्रजातिको आइसिनिया फोटिडा जात प्रयोग गर्नुभएको छ । यो प्रजाति जमिनको सतहमा बस्ने र जैविक पदार्थ खाने गर्दछन् ।