• ४ मंसिर २०८१, मङ्गलबार

नेपाल–चीनको जनस्तरमा सम्बन्ध विस्तार : नेता पोखरेल

blog

चीन भ्रमणमा रहनुभएका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेता र चिनिया प्रतिनिधिहरु । तस्विरः दिपक ज्ञवाली

गोरखापत्र अनलाइन

चीन (ईन्सी, हुवई), मंसिर ३ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र चीनबिच अनेक ऐतिहासिक, गहिरो र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभएको छ । 

उहाँले अब त्यस्तो सम्बन्धलाई दुई देशका जनताको तहमा विस्तारित गर्न दुई देशका प्रदेश र स्थानीय तहबिच भगिनी सम्बन्ध वृद्धि गर्न प्रस्ताव गर्नुभएको छ । नेकपा (एमाले) को उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहनु भएका पोखरेलले चीनका विभिन्न स्थानमा आयोजित औपचारिक तथा अनौपचारिक कार्यक्रममा यस्तो प्रस्ताव गर्नु भएको हो । 

जवाफमा चिनियाँ नेता तथा जनप्रतिनिधिले त्यसतर्फ अघि बढ्न सकिने बताउनुभयो । हुवई प्रदेश जनसरकारद्वारा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “चीन र नेपाल सरकार तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा (एमाले) बिच गहिरो ऐतिहासिक सम्बन्ध छ । अब जनस्तरमा पनि सम्बन्ध विस्तार गर्न जरुरी छ ।” 

दुई देशका जनताबिच आत्मीय सम्बन्ध विस्तार गर्न गत हप्ता मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गर्नुभएको भगिनी प्रदेश सिचुवान र तिब्बतको नाछु प्रदेशका प्रमुखले गर्नुभएको भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणले महत्त्वपूर्ण योगदान गरेको उहाँले स्मरण गर्नुभयो ।  

उहाँले मित्रताको साक्षी इतिहास, भूगोल, राजनीतिक, धार्मिक, सांस्कृतिक लगायतका ऐतिहासिक पक्ष रहेको स्मरण गर्नुभयो । हुवई प्रदेश जनसरकारका गभर्नर तथा चिनिया कम्युनिष्ट पार्टी हुवई प्रदेश पार्टीका महासचिव वाङ जोङलिङले चीन र नेपालबिच सम्बन्ध राम्रो र भविष्य उज्ज्वल रहेको चर्चा गर्दै सम्बन्ध र सहयोग आदान प्रदानका अनेक क्षेत्र रहेको बताउनुभयो । 

यसैगरी हुवई विश्वविद्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको प्रगतिमा चीनको सहयोग र सदभाव प्रशंसनीय रहेको स्मरण गर्दै चीनमा नेपाली विद्यार्थीले अध्ययन र विज्ञता हासिल गर्ने अनुकूल वातावरण बन्ने अपेक्षा गर्नुभयो । 

विश्वविद्यालयका उपाध्यक्ष ल्यु चिहङले वैज्ञानिक शिक्षा बिस्तारमा सहयोग आदान प्रदान भइरहेको चर्चा गर्दै भविष्यमा थप प्रगति हुने आशा व्यक्त गर्नुभयो । भ्रमणका क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोलीले हुवई प्रदेशको इन्सी नगरपालिका लगायतका स्थानहरूको अवलोकन गरेको थियो । नेपाली टोलीलाई चीनका विभिन्न तहका जनसरकार लगायत विभिन्न निकायले स्वागत गरिरहेका छन् । 

टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गर्दैछ । पोखरेलले त्यहाँ आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । बेइजिङमा उच्चस्तरीय भेटवार्ता समेत हुनेछ ।