• २ मंसिर २०८१, आइतबार

गौरीशङ्करमा चुनावी रौनक कडा प्रतिस्पर्धामा चार महिला उम्मेदवार

blog

उम्मेदवार पासादिकी शेर्पा, निमलेकी शेर्पा, गोमा श्रेष्ठ, उमा मगर शेर्पा । तस्बिर: गोरखापत्र

बाबुराम शर्मा

दोलखा, मङ्सिर २ गते । दोलखाको गौरीशङ्कर गाउँपालिकामा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको जिल्लाका दलहरूले प्रतिस्पर्धात्मक रूपमा प्रचारप्रसार गरेका छन् । आजदेखि आचरसंहिता लागु भएको छ भने मनोनयन दर्ता पनि आज नै हो ।

जिल्लामा रिक्त रहेको एक मात्र गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको र सो निर्वाचनमा आफ्नो जित हात पार्न  प्रतिस्पर्धात्मक रूपमा प्रचारप्रसार गरेका हुन् ।

उपनिर्वाचन हुने निश्चित भएसँगै यति बेला ठुला दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलले आफ्नो पक्षमा माहौल बनाउन गाउँ पसेका छन् । दलहरू आफ्नो पक्षमा माहौल बनाउन र चुनाव पचारप्रसारका लागि गाउँ केन्द्रित भएका छन् । 

मेरो प्रतिज्ञा गौरीशङ्करको उन्नति मुख्य नाराका साथ नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नु भएकी स्व.पूर्व उपाध्यक्षकी धर्मपत्नी पासदिकी शेर्पा तमाङ सहित टोली गाउँ गाउँमा पुगेको छ । उहाँले पतिले गाउँपालिकावासीलाई दिन बाँकी योगदान दिन आफ्नो उम्मेदवारी तय गरी प्रचारप्रसारमा उत्रिएको बताउनुभयो । 

कार्यपालिका बनाएर नौ वडामा प्रचारप्रसार गर्दै भेटघाट, भलाकुसारी र गुनासो सुन्ने र आशीर्वाद थाप्ने काम भएका उहाँले स्पष्ट पार्नुभयो । 

त्यसै गरी नेपाल कम्युनिस्ट पार्टी एमालेकी उम्मेदवार उमा मगर शेर्पालाई सदरमुकाम चरिकोट बोलाएर पार्टी कार्यालयबाट जितको शुभकामना सहित टोली गाउँ पुगेको छ । उम्मेदवार उमाले भन्नुभयो,  जनताका घरदैलोमा पुगेर मत माग्दै मतदातासँग आशीर्वाद लिने, सुझाव सङ्कलन गर्ने र अन्य राजनीतिक दलहरूसँग पनि भेटघाट गर्ने योजनाका साथ काम भइरहेको छ । गाउँका प्रबुद्धवर्गसँग पनि राय लिने पनि कार्यपालिका बनेको छ । 

अहिलेको जल्दो बल्दो मानिएको सामाजिक सञ्जाल फेसबुकमार्फत पनि उम्मेदवारहरू भोट मागिरहेका छन् । युवाको आह्वान, पाकालाई धन्यवाद र सम्मान युवालाई मतदान परिवर्तन शिक्षित युवाबाट सम्भव छ भन्दै नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रविना खड्काले फेसबुकमार्फत भोट मागिरहनु भएको छ । उहाँले अहिले गाउँ गाउँमा पुगेर महिला, बालबालिका तथा समग्र पालिकावासीका पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । 

माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पालाई केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट अग्रिम जितको शुभकामना पाउनु भएकी उम्मेदवार निमलेकी शेर्पा पनि गाउँ गाउँमा प्रचारप्रसारमा तल्लीन हुनु हुन्छ । उहाँले भन्नुभयो, गाउँका विपन्न, महिला तथा बालबालिकालाई लक्षित गरी का गर्नेछु । पिछडिएको गाउँलाई विकासको लहर ल्याई समुन्नत बनाउने लक्ष्य रहेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मनकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएर गाउँ केन्द्रित भई प्रचारप्रसार भइरहेको जिल्लाध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो । 

उम्मेदवारी नदिने भन्दै बसेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गोमा श्रेष्ठलाई उम्मेदवार बनाएर गाउँमा भोट माग्न थालेको जिल्लाध्यक्ष दिनेश बस्नेतले पानकारी दिनुभयो ।