• २८ पुस २०८१, आइतबार

अर्थतन्त्र विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह मोरङ चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तरक्रिया क्रममा बोल्नुहुँदै । तस्बिर : उपप्रधानमन्त्री सिंहको सचिवालय

विराटनगर, मङ्सिर १ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहेको भन्दै त्यसका लागि आवश्यक समन्वय गर्न आग्रह गर्नुभएको छ ।

मोरङ चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तरक्रिया क्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । कार्यक्रममा मोरङका व्यवसायीहरूले निजी क्षेत्रले व्यवसाय दर्तादेखि अहिले भोगिरहेका समस्याबारे जानकारी गराउँदै समाधानका लागि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।

सरकारको अहिलेको मुख्य प्राथमिकता आर्थिक समृद्धि रहेको भन्दै उहाँले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री सिंहले ०७२ को भूकम्प, त्यसपछि कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र उठाउन सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले देशको अर्थतन्त्र सुदृढ बनाउन उत्पादनको क्षेत्रमा जोड दिन आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको भन्दै व्यवसायीहरूलाई विश्वस्त रहन पनि आग्रह गर्नुभयो  । नेपाली कांग्रेसको नेतृत्वमा ०४८ सालमा बनेको सरकारले लिएको खुला बजार अर्थनीतिकै कारण देशमा निजी क्षेत्रको विकास भएको पनि उपप्रधानमन्त्री सिंहले स्मरण गराउनुभयो । 

‘‘०४६ साल अगाडि निजी क्षेत्रका व्यवसायीहरूले भोगेको समस्या अहिलेको भन्दा धेरै गुणा बढी थियो । अहिले व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन खोजिएको छ । व्यवस्था मात्र होइन अवस्था पनि क्रमिक रूपमा सबै क्षेत्रमा परिवर्तन भएको छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘शिक्षा, स्वास्थ्य, सडक, आर्थिक क्षेत्रलगायतमा क्रमिक रूपमा परिवर्तन भएको छ । तर, समयअनुसार नयाँ चुनौतीहरू आउँछन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा अब जोड दिनुपर्छ । सरकार त्यसमा गम्भीर छ ।’’

सरकार अस्थिर हुँदा अरू क्षेत्रले जस्तै आर्थिक क्षेत्रले पनि समस्या भोगिरहेको चर्चा गर्दै उहाँले राजनीति स्थायित्वकै लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको पनि बताउनुभयो ।

उपप्रधानमन्त्री सिंह शनिबार जदाहा गाउँपालिकामा गणेशमान सिंह फाउन्डेसन मोरङले आयोजना गरेको स्वास्थ्य शिविरमा पनि सहभागी हुनुभयो । उहाँले फाउन्डेसनले आयोजना गरेको शिविरबाट लाभ लिनबाट जदाहाका कोही पनि नछुट्ने गरी संयोजन गर्न पनि आग्रह गर्नुभयो । शिविरबाट करिब एक हजार नागरिकले स्वास्थ्य सेवा लिने छन् ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले जदाहामा बनिरहेको जदाहा गाउँपालिकाको प्रशासनिक भवनको पनि निरीक्षण गर्नुभयो ।