• ६ पुस २०८२, आइतबार

पोखरामा पत्रकार भेला : एघारबुँदे घोषणापत्र जारी

blog

पोखरा समाचारदाता

पोखरा, पुस ६ गते । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजनामा भएको भेलाले ११ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । सो घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको हकहित, पेसागत सुरक्षाका लागि निरन्तर सङ्घर्षरत रहने महासङ्घले प्रतिबद्धता व्यक्त गरेको छ । वर्तमान सन्दर्भमा नेपाली पत्रकारिता आर्थिक सङ्कटबाट गुज्रिरहेको निचोड पनि भेलाले निकालेको छ । सञ्चारगृहको आम्दानी घट्नु, विज्ञापन बजार असन्तुलित हुनु, डिजिटल प्लेटफर्मको प्रभाव बढ्नु र राज्यको नीतिगत उदासीनताले पत्रकारको जीविकोपार्जन असुरक्षित बनेको भेलामा औँल्याइएको छ । 

महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलद्वारा जारी घोषणापत्रमा तीन तहकै सरकारबाट पत्रकारिता क्षेत्रलाई सार्वजनिक सरोकारको रणनीतिक क्षेत्रका रूपमा स्वीकार गर्दै श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष कार्यान्वयन सुनिश्चित गरिनुपर्ने उल्लेख गरिएको छ । प्रदेश सरकार र स्थानीय तहले पत्रकार कल्याण, विज्ञापन नीति र सञ्चार कार्यविधिलाई व्यावहारिक र सहज बनाउनुका साथै पत्रकार र सञ्चार माध्यमलाई विकास साझेदारका रूपमा स्वीकार गर्दै सूचना र विज्ञापनमा स्थानीय मिडियालाई प्राथमिकता दिन आग्रह गरिएको छ । 

त्यसै गरी नवयुवा पुस्तालाई पत्रकारितामा आकर्षित गर्न र कार्यरत पत्रकारलाई पेसामा टिकाइराख्न सुरक्षित आम्दानी, वृत्तिविकास, तालिम र प्रविधिमा लगानी अपरिहार्य भएको पनि उल्लेख गरिएको छ । मिथ्या तथा भ्रामक सूचनाको बढ्दो जोखिम हेरेर पत्रकारले तथ्य जाँच, स्रोतको विश्वसनीयता, सन्तुलन र पेसागत आचारसंहिताको कडाइका साथ पालना गरी समग्र पत्रकारिताप्रतिको जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा भेलामा जोड दिइएको छ । सङ्घीय सरकारबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापन र पत्रिका वर्गीकरण प्रणाली अझै व्यावहारिक, पारदर्शी र मिडियामैत्री बनाउन माग गरिएको छ । विज्ञापन बोर्डले मिडियालाई अलमल पार्नेभन्दा सहज, सहजीकरणमुखी र विश्वासयोग्य बनाउनुपर्ने, गण्डकी प्रदेशभित्रका सञ्चारमाध्यम प्रदेशकै प्रेस रजिस्ट्रारको कार्यालय वा जिल्ला हुलाक कार्यालयमार्फत दर्ता र नवीकरण हुने प्रबन्ध मिलाउनुपर्ने, प्रदेश सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन रकम अत्यन्त कम र कार्यविधि झन्झटिलो भएकाले तत्काल परिमार्जन गर्न पनि आग्रह गरिएको छ । जेनजी आन्दोलनमा क्षति पुगेका सञ्चारगृह र पत्रकारलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

हालको अन्योलपूर्ण अवस्थाको निकास र संविधान रक्षाका लागि यथासमयमा भयरहित निर्वाचन गर्न/गराउन सरकार तथा दलहरूलाई भेलामा आग्रह गरिएको छ । पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्धनमा पत्रकारिताका क्षेत्रबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माणमा सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।

भेलामा ११ वटै जिल्ला शाखाले एकबर्से कार्यकालको प्रगति विवरण, चुनौती तथा भावी योजना प्रस्तुत गरेका थिए । दुई दिनसम्म सञ्चालन भएको सो भेलामा महासङ्घका अध्यक्ष निर्मला शर्माले लोकतान्त्रिक विधि अनुरूप निर्वाचन गराउन सञ्चार माध्यमले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।

पर्यटन प्रवर्धनमा भूमिका  

यसैबिच मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको प्रवर्धन गरिनुपर्नेमा सो क्षेत्रका व्यवसायीले औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको आयोजनामा ‘गण्डकी प्रदेशको पर्यटन प्रवर्धनमा मिडियाको भूमिका’ विषयक अन्तर्क्रियामा सहभागी वक्ताले गण्डकी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्धन तथा नयाँ गन्तव्य पहिचानमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने विषयमा जोड दिएका थिए ।

पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको सो अन्तक्रिया कार्यक्रममा पर्यटन व्यवसायीले गण्डकी प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा पत्रकार महासङ्घसँग मिलेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । गण्डकी प्रदेशका पत्रकारहरूबिच भएको दुईदिने भेलाका अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरासहित समग्र गण्डकीकै पर्यटन प्रवर्धनमा मिडियाको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले निजी क्षेत्रको प्रवर्धनका लागि सञ्चार माध्यम सधैँ सकारात्मक रहेको बताउनुभयो । महासङ्घका महासचिव रामप्रसाद दाहाललगायतले पर्यटन प्रवर्धनमा पत्रकार महासङ्घ केन्द्रीय समिति पनि सहकार्य गर्न सधैँ तयार रहेको बताउनुभएको थियो । 

पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले ओझेलमा परेका तथा नयाँ नयाँ पर्यटकीय गन्तव्य पहिचानमा सञ्चार माध्यम आवाजविहीनको आवाज बन्नुपर्नेमा जोड दिनुभयो । यही पुस १३ देखि १७ गतेसम्म हुने सडक महोत्सव सफल पार्न सञ्चार माध्यमबाट विगतमा झैँ व्यापक प्रचारप्रसारको अपेक्षा गरिएको उहाँको भनाइ थियो  ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, नाट्टाका महासचिव सङ्गीता पौडेल, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, पत्रकार महासङ्घ केन्द्रीय सदस्य केबी राना, पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, तनहुँ अध्यक्ष डिपी अधिकारी, पत्रकार महासङ्घ गण्डकीका निवर्तमान सचिव यदुनाथ बन्जारा, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बराललगायतले पर्यटन र पत्रकारिताबारे बोल्नुभएको थियो ।