• ६ पुस २०८२, आइतबार

ताप्लेजुङमा बन्दुकसहित युवक मृत फेला

blog

साहारा लिम्बू
फुङलिङ, पुस ६ गते ।
ताप्लेजुङमा एक युवक बन्दुकसहित मृत फेला परेका छन् । मैवाखोला गाउँपालिका ३ लेकुवाका करिब २६ वर्षीय फुर्वा रेन्जु शेपा बन्दुकसहित मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीय तिलोक सिंह लिम्बूको अलैँची बारीमा भरुवा बन्दुकसहित शेर्पा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार शेर्पा शनिबार राति २ बजे १८ वर्षीय भतिज सोनम शेर्पासँग अलैँची बारीमा तर्फ जानुभएको थियो ।  

भरुवा बन्दुकमा बारुद भर्ने क्रममा अचानक पड्किएर शेर्पाको घाँटी लागेको सँगै गएका भतिज सोनमको भनाइ रहेको प्रहरीले बताएको छ । घटनाको विषयमा प्रहरी चौकी साँघुमा आइतबार बिहान करिब ७ बजे वडाध्यक्ष खगेन्द्र थक्लुङले जानकारी गराउनुभएको थियो । घटना स्थललाई सुरक्षित गरी सोनमलाई समेत प्रहरीले नियन्त्रणमा राखेको डीएसपी गौतमले बताउनुभयो ।

कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी निरीक्षक दीपक लिम्बुको नेतृत्वमा मुद्दासहितको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।