• ६ पुस २०८२, आइतबार

किसानका समस्या समाधानमा गम्भीर छौँ : मन्त्री परियार

blog

धनकुटा महालक्ष्मी नगरपालिका स्थित घुमाउनेमा अनुगमनका क्रममा बोल्नुहुँदै मन्त्री मदनप्रसाद परियार । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) पुस ६ गते ।
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले किसानले भोग्नु परेका समस्या समाधान गम्भीर रहेको बताउनुभएको छ । धनकुटाको महालक्ष्मी नगरपालिकास्थित घुमाउनेमा रहेको प्रगतिशील कृषि तथा पशुपालन कृषक समूहको अनुगमन गर्दै धनकुटा आइपुग्नु भएका कृषिमन्त्री परियारले यस्तो बताउनु भएको हो ।

उहाँले किसानको समस्या समाधान नगरे देशको समृद्धि सम्भव नहुने बताउनुभयो । सरकार किसानमैत्री रहेको जानकारी दिनुभयो । वर्तमान सरकार जेनजी आन्दोलनबाट बनेको नागरिक सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नै गठन भएको मन्त्री परियारको भनाइ रहेको थियो । आर्थिक करिडोर कार्यालयले मध्यपहाडी राजमार्ग केन्द्रित कृषि र पशुपालनमा वितरण गरेको अनुदानको अनुगमनका क्रममा मन्त्री परियारले जनताको मुखबाटै गुनासो सुन्न र आफ्नै आँखाले देख्नका लागि घरदैलोमा आएको र जनतालाई बढिभन्दा बढी सहुलियत दिने समेत प्रतिवद्धता जनाउनुभयो ।

आफ्नो देशकै किसानका समस्याको चाङ्ग रहेको बताउँदै तत्कालीन रुपमा सम्बोधन गर्न सकिने समस्याहरु समाधान गर्न वर्तमान सरकारले काम गरिरहेको उहाँको भनाइ रहेको थियो । किसानलाई सिजन अनुसार आवश्यक पर्ने मलखाद्य बीउबिजन र बजार व्यवस्थापनको काम समेत भइरहेको उनले बताउनुभयो । मध्यपहाडी राजमार्ग निर्माण भएपछि पहाडी क्षेत्रका किसानहरुलाई राहत त भयो तर अन्य सेवा सुविधाहरु किसानसँग पुग्न नसकेका कारण किसानका पीडा देखेर चिन्तित रहेको भन्दै मन्त्री परियारले काठमाडौँ फर्किने वित्तीकै केहि नीतिगत कार्यहरु गरिने विश्वास किसानलाई दिलाउनुभयो ।

दुग्ध विकास संस्थानबाट किसानले दुधको मूल्य भुक्तानी नपाएको विषयमा सरकारले चासोका साथ लिएर समाधानको लागि पहल गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । विश्व बैंकको सहयोगमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालयले सञ्चालन गरेको कार्यक्रममार्फत प्रगतिशील कृषि तथा पशुपालन कृषक समूहका १८ परिवार लाभान्वित रहेका छन् । कार्यक्रममा किसानहरुले समयमा मलखाद्य नपाउने, सिँचाइको प्रबन्ध नभएको, बजार व्यवस्थापन हुन नसकेको उत्पादनका लागि कृषि बैंकबाट ऋण सुविधा सहज रुपमा नदिइने भारतीय बजारबाट नेपालमा तरकारी धान चावल आयात हुने तर नेपालबाट सहज रुपमा निर्यात नहुने लगायतका समस्याहरु समाधान गर्न मन्त्री परियार समक्ष माग राखेका थिए ।