• ५ पुस २०८१, शुक्रबार

कफीको नयाँ मूल्य निर्धारण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १ गते । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ । शनिबारदेखि लागु हुने गरी बोर्डले विभिन्न जातका कफीको नयाँ मूल्य निर्धारण गरेको हो । प्रत्येक वर्ष बोर्डले कफीको नयाँ मूल्य निर्धारण गर्ने गरेको छ ।

नयाँ मूल्य अनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रतिकेजी १०५ रुपियाँ र ग्रेड ‘बी’ को ९५ रुपियाँ मूल्य निर्धारण गरेको छ । यस्तै, पार्चमेन्ट कफी ग्रेड एको ५३५ रुपियाँ र ग्रेड ‘बी’ को प्रतिकेजी ४८२ रुपियाँ मूल्य निर्धारण गरिएको छ ।  

ड्राइ चेरी ग्रेड ‘ए’ कफीको प्रतिकेजीको २८० र ग्रेड ‘बी’ २४७ रुपियाँ मूल्य निर्धारण गरिएको बोर्डले जनाएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९२ लाख रुपियाँ बराबरको ८९ मेट्रिक टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख बराबरको ४४३ मेट्रिक टन कफी आयात भएको भएको छ । आर्थिक वर्ष २०७९/८० मा १३ करोड चार लाख रुपियाँ बराबरको ७७.८६ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख बराबरको ४५० मेट्रिक टन आयात भएको थियो । मुलुकभर चार हजार ३०९ हेक्टरमा कफी खेती भइरहेको छ । उत्पादनको झन्डै १७ प्रतिशत कफी विदेश निर्यात हुने गरेको छ ।