• १५ चैत २०८०, बिहिबार

ढोरपाटन नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस विजयी

blog

ढोरपाटन नगरपालिका प्रमुखमा दोस्रो पटक निर्वाचित नेकपा एमालेका उम्मेदवार देवकुमार नेपाली । तस्विर : गोरखापत्र

नवीन शिशिर विक

बागलुङ, जेठ ३ गते । बागलुङको ढोरपाटन नगरपालिका प्रमुखमा दोस्रो पटक नेकपा एमालेका उम्मेदवार देवकुमार नेपाली निर्वाचित हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका चन्द्र अर्याललाई ६ सय मत अन्तरले पराजित गर्दै पुनः नगरपालिका प्रमुखमा निर्वाचित हुनुभएको हो । 

नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका धनबहादुर कायत विजयी हुनुभएको छ । उहाँले राष्ट्रिय जनमोर्चा विद्रोही समुहका उम्मेदवार ताराकुमारी पुनलाई पराजित गर्नुभएको थियो । 

कायतले ५ हजार ६५० मत प्राप्त गर्नुभएको थियो । पुनले चार हजार ४८४ मत प्राप्त गर्नुभएको थियो । ढोरपाटन नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले चुनावी एकता गरेका थिए । 

ढोरपाटन नगरपालिका वडा– १ को अध्यक्षमा नेपाली काँग्रेसका बानबहादुर छन्त्याल, वडा–२ मा राष्ट्रिय जनमोर्चाका भेकबहादुर खत्री,  वडा–३ मा नेकपा एमालेका खिमबहादुर सुनार, वडा–४ मा  नेकपा एमालेका तिलक पुन (जनमोर्चा विद्रोही),  वडा–५ मा एमालेका दीपेन्द्र पुन, वडा– ६ मा नेकपा एमालेका उमेशकुमार बुढामगर, वडा– ७ मा राष्ट्रिय जनमोर्चाका धनबहादुर अदै, वडा– ८ मा माओवादी केन्द्रका भद्रमणि सुनार र वडा– ९ मा नेकपा एमालेका खिमबहादुर घर्तीमगर विजयी हुनुभएको छ ।