• २८ पुस २०८१, आइतबार

अयोध्याबाट आउने जन्तीकाे स्वागतमा जुट्दै पालिका

blog

अयोध्याबाट आउने जन्तीको स्वागत र आवास सम्बन्धमा मटिहानी नगरपालिकाले मटिहानी मठमा आयोजना गरेको छलफल कार्यक्रमका सहभागीहरु ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, कात्तिक ३० गते । जनकपुरमा हुने विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आउने जन्तीहरुको स्वागतको तयारीमा महोत्तरीको मटिहानी, जलेश्वर तथा पिपरा पालिकाहरु लागिपरेका छन् । 

जनकपुरमा मङ्सिर २१ गते हुने विवाहपञ्चमीका लागि भारतको अयोध्याबाट सयौंको जन्ती नेपालको मटिहानी, जलेश्वर, पिपरा हुँदै जनकपुर पुग्ने कार्यक्रम तय भएपछि यहाँ तयारी थालिएको छ । 

भारतको अयोध्याबाट आउने जन्तीहरु मङसिर १७ गते नेपाली भूमिको जिल्लाको मटिहानीमा प्रवेश गर्ने कार्यक्रम छ । त्यहाँ मटिहानी नगरपालिकाले स्वागतसहित रात्री विश्रामको व्यवस्थापन गर्नेछ । सो दिनको रात्री विश्रामपछि १८ गते मटिहानीबाट हिडेको जन्तीलाई जलेश्वरमा स्वागतसहित चिया तथा नास्ता र पिपरा पालिकामा भोजन व्यवस्थापन गरिने कार्यक्रम छ ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले पालिकामा एउटा बैठक राखेर विवाहपञ्चमीमा भारतको अयोध्याबाट आउने जन्तीको स्वागतको लागि कसरी अगाडि बढने विषयमा छलफल गरि निर्णयहरु गरिएको बताउनुभयो । उहाँले सयौंको सङ्ख्यामा विवाहपञ्चमीमा आउने जन्तीहरुलाई मटिहानी नगरपालिकाले स्वागत, रात्रीको भोजन तथा आवासको व्यवस्थापन गर्ने निर्णय गरिएको बताउनुभयो ।

हरेक पाँच पाँच वर्षमा जनकपुरमा हुने विवाहपञ्चमी समारोहमा भाग लिन अयोध्याबाट जन्तीहरु आउने परम्परा अनुरुप यसवर्ष पनि जन्ती आउने भएपछि स्वागत तथा सत्कारको लागि विभिन्न समिति बनाइएको मटिहानी नगरपालिकाका प्रमुख मण्डलले बताउनुभयो । उहाँले जन्तीको स्वागतमा मटिहानीमा सरसफाईसहित दीपावली मनाउने कार्यक्रम समेत तय गरिएको बताउनुहुँदै पाँच पाँच वर्षमा अयोध्याबाट आउने जन्तीहरुलाई स्वागत गर्न पाउँदा मटिहानीबासी हर्षित भएको बताउनुभयो ।

मटिहानीमा आउने जन्तीहरुलाई लक्ष्मीनारायण मन्दिरमा पूजापाठसँगै लक्ष्मीनारायण पोखरीमा हुने आरतीमा सम्मिलित गराइने गरी कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

नेपालको मुख्य प्रवेशमार्ग मटिहानी रहेकोले जन्तीहरुलाई नेपालको भूमिमा हुने आतिथ्य देखाउने गरी स्वागतलाई भव्य बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले मटिहानीमा बसेको बैठकमा भाग लिनुहुँदै जलेश्वर नगरपालिकाले समेत जन्तीको स्वागतको लागि सरसफाईसँगै जलेश्वरनाथ महादेव मन्दिरमा पुजापाठको व्यवस्थापन गरिने बताउनुभयो । 

अयोध्याबाट आउने जन्तीको अगुवाइ अयोध्यामा रहेको राम मन्दिर ट्रष्टका सचिव चम्पत रायले गर्ने जनाइएको छ ।