• ५ पुस २०८२, शनिबार

विविधता भित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति : उपराष्ट्रपति यादव

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव

काठमाडौँ, पुस ५ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हाम्रा चाडपर्वहरूले भाषा, संस्कृति, रीतिरिवाज र पहिरनलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधतालाई संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

शनिबार तोल ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले पर्वलाई पर्यटनसँग जोडेर प्रवर्धन गर्दा स्थानीय आर्थिक गतिविधि सशक्त हुने मात्र होइन, राष्ट्रिय स्तरमा सकारात्मक ऊर्जा थपिने विश्वास लिनुभको छ ।

‘‘मौलिक पर्व तोल ल्होसार, नयाँ वर्षको आगमन मात्र होइन, सामाजिक एकता, सांस्कृतिक पहिचान र राष्ट्रिय भावनालाई सुदृढ बनाउने अवसर पनि हो । घर–आँगन शुद्ध पार्ने, मान्यजनसँग आशीर्वाद ग्रहण गर्ने र परम्परागत परिकारको स्वादमा रमाउँदै परस्पर शुभकामना आदान–प्रदान गर्ने परम्पराले यस पर्वलाई थप अर्थपूर्ण बनाउँदछ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘यसले समुदायबिचको आपसी विश्वास, सहयोग र मैत्रीभावलाई बलियो बनाउँदै राष्ट्रिय एकता र सद्भावलाई मजबुत बनाउने कार्यमा टेवा पुर्‍याउँदछ ।’’

नेपालको संविधानले अंगीकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका मूल्यलाई चाडपर्वहरूले अझै सुदृढ बनाउँदछ । विविधता भित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति हो । तोल ल्होसारले यस भावनालाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्दछ ।

उपराष्ट्रपति यादवले यस पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको प्रेरणा जगाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।