• २२ मंसिर २०८१, शनिबार

वनमा फोहोर फाल्न रोक

blog

अजम्मरी सामुदायिक वन समूहको गेटमा रोकिएका फोहोर बोकेका ट्याक्टर ।

घोराही समाचारदाता

घोराही, कात्तिक २८ गते । दाङको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्र फोहोर फाल्न रोक लगाएको छ । लामो समयदेखि अव्यवस्थित र दुर्गन्धित फोहोर फालिँदै आएको अजम्मरी सामुदायिक वन क्षेत्रबाट डम्पिङसाइड अन्यत्र व्यवस्थापन गर्न भन्दै गत असोज २३ गते सामुदायिक वनले लमही नगरपालिकालाई एक महिने अल्टिमेटम दिएको थियो ।  

एक महिनाको अवधिमा पनि फोहोर फाल्नका लागि वैकल्पिक स्थानको खोजी नगरेको भन्दै सामुदायिक वनले फोहोर फाल्न रोक लगाएको हो । वन समूहले फोहोर फाल्ने प्रवेशद्वारमा ताला लगाइदिएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभएको छ । लमही नगरपालिकाले कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न नसकेको र एकै ठाउँमा फोहोर फाल्दा दुर्गन्ध फैलिएको भन्दै ताला लगाएको अध्यक्ष रिजालले जानकारी दिनुभएको छ । 

अध्यक्ष रिजालले भन्नुभयो, “वर्षौंदेखि अजम्मरी सामुदायिक वन क्षेत्रमा फोहोर फाल्दै आइएको छ तर व्यवस्थापन भने गर्न सकिरहेको छैन । फोहोरले गर्दा वन क्षेत्रमा प्रवेश गर्न समस्या हुन थालेको छ ।”  समूहका अध्यक्ष रिजालका अनुसार फोहोर फालिएको स्थानमा फोहर जलाउनाले सडकमा समेत प्रदूषण बढेको भन्दै यस विषयमा आवाज उठेपछि सामुदायिक वन उपभोक्ता समूहले केही समय पहिले उचित व्यवस्थापन गर्न लमही नगरपालिकालाई अनुरोध गरेको बताउनुभयो । अध्यक्ष रिजालले भन्नुभयो, “हामीले आधिकारिक पत्रसहित पनि नगरपालिकामा पुगेर नगरप्रमुखसँग अनुरोध गरेका थियौँ । एक महिना बितिसक्दा पनि नगरपालिकाले अहिलेसम्म कुनै सुनुवाइ नगरेपछि बाध्य भएर ताला लगाएका हौँ  ।” जथाभाबी रूपमा वन क्षेत्रमा फोहोर फाल्दा वातावरण र वन्यजन्तुलाई गम्भीर असर पुगेको भन्दै वन समूहले वनमा फोहोर फाल्न रोक लगाएको  बताउनुभएको छ ।