अविनाश चौधरी
धनगढी, कात्तिक २८ गते । चिसो बढ्दै गएपछि कैलालीमा हुस्सु लाग्न सुरु भएको छ । कात्तिक अन्तिम साता कैलालीका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लाग्न थालेको हो । विगत वर्षको तुलनामा कात्तिकमै बाक्लो हुस्सु लाग्न सुरु भएपछि यस वर्ष अत्यधिक चिसो हुने स्थानीयको भनाइ छ ।
बाक्लो हुस्सु लाग्न सुरु भएपछि अहिले चिसो बढेको महसुस भएको धनगढी उपमहानगरपालिका–८ का स्थानीय तुला बखरियाले बताउनुभयो ।
अरु वर्ष मङ्सिरसम्मै राम्ररी घाम लागेकोमा यसवर्ष कात्तिकै घाम मधुरो भएको स्थानीयको भनाइ छ । कैलालीमा दिनभरि नै हुस्सु लाग्ने भएका कारण घाम कम लाग्न थालेको उनीहरु बताउँछन् ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको आजको बुलेटिनमार्फत जनाएको छ ।