• २७ पुस २०८१, शनिबार

वार्षिक चार सय पाठापाठी उत्पादन

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, कात्तिक २७ गते । कोशी प्रदेशकै सबैभन्दा ठुलो दाबी गरिएको युनिक लाइभस्टक इन्टरप्राइजेजले वार्षिक बाख्राका चार सय पाठापाठी बिक्री गरिरहेको छ । बाख्रापालन स्रोत केन्द्रका रूपमा स्थापना भएको स्रोत केन्द्र पाँच वर्षअघि सञ्चालनमा आएको हो । 

दक्षिणी मोरङको धनपालथान गाउँपालिका–३, बेतौनामा रहेको स्रोत केन्द्रमा १० प्रजातिका ४५० बाख्रा, बोका र पाठापाठी छन् । कोशी प्रदेशमा पहिलो पटक सिरोही, अजमेरी, गुजरी, कोटा, तोतापुरी र साइन जातका बाख्रा भित्र्याएको युनिक लाइभस्टक इन्टरप्राइजेजले हालसम्म पूर्वाधारबाहेक दुई करोड रुपियाँ लगानी गरिसकेको छ ।

त्यस्तै कोशी प्रदेशमा यसअघि व्यावसायिक रूपमा पालिँदै आएका बारवरी, बोयर, जमुनापारी, खरी जातका बाख्रा पनि पालिएको छ । गर्भिणी बाख्रालाई अलग खोर, माउ बाख्रालाई अलग, बोकालाई अलग खोरमा व्यवस्थापन गरेको फार्मले बोका बिक्री नभएको अवस्थामा खसी पारेर अलग स्थानमा राख्ने व्यवस्था मिलाएको छ ।

स्रोत केन्द्रका व्यवस्थापक पङ्कज झाका अनुसार २२ बिघा जग्गामा १६० फिट लम्बाइ र ३४ फिट चौडाइका तीन वटा र ५० फिट लम्बाइ र ३० फिट चौडाइको एउटा गरी चार वटा आधुनिक खोरमा बाख्रापालन गरिएको छ । 

सुरुमा विराट् पोल्ट्री फार्म सञ्चालन भएको पूर्वाधारलाई परिवर्तन गरी बाख्रापालन स्रोत केन्द्र निर्माण गरिएको झाको भनाइ छ । पोल्ट्री फार्म सञ्चालन गर्दा स्थानीयबाट अवरोध भयो । त्यसपछि हामी बाख्रापालनतर्फ लागेका हौँ, झाले भन्नुभयो । फार्ममा हाल नौ जनाले रोजगारी पाएका छन् ।

थोरै समयमा छिटो बढ्ने जातका बाख्रामा स्थानीय बाख्रालाई प्रजनन गराई पाठापाठी हुर्काउँदै आएको इन्टरप्राइजेजले पछिल्ला तीन वर्षमा २८ जिल्लामा बाख्राका पाठा बेचेको जनाएको छ । व्यवस्थापक झाले भन्नुभयो, “मासिक चार लाख ५० हजार व्यवस्थापन खर्च छ । बैङ्कको साँवाब्याज यहीँको आम्दानीबाट व्यवस्थापन भइरहेको छ । आजसम्मको शुद्ध नाफा भनेको दुई करोडका यिनै बाख्रा, बोका र पाठापाठी हुन् ।” दुई जना पशु प्राविधिक राखेर उपचारको प्रबन्ध मिलाएको स्रोत केन्द्रले पाठापाठी जिउँदो प्रतिकेजी १५ देखि १८ सय रुपियाँमा बिक्री गरिरहेको छ । हाल एक सय वटा पाठापाठी बिक्रीका लागि तयारीमा रहेको झाले बताउनुभयो । बाख्रापालन केन्द्रलाई भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मोरङले समय समयमा औषधी र घाँसको बिउ निःशुल्क व्यवस्थापन गर्दै आएको छ । यसका अतिरिक्त सरकारी सहयोग केही पनि छैन । 

झाका अनुसार विभिन्न जिल्लाबाट अवलोकनका लागि किसान आउने गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहले कोशी प्रदेशमा युनिक फार्म नै सबैभन्दा ठुलो व्यावसायिक फार्म भएको बताउनुभयो । राजस्थान, हरियाणा र पाकिस्तानमा पालिने बाख्राका प्रजाति ल्याएर युनिकले प्रजनन केन्द्र स्थापना गरेको छ । थोरै समयमा धेरै वजन हुने प्रजातिका बाख्राका पाठापाठी उत्पादन भइरहेको डा. साहले बताउनुभयो । परम्परागत तरिकाबाट बाख्रा पाल्दा खर्च धेरै र आम्दानी थोरै हुने गरेकाले विज्ञ केन्द्रले पनि किसानलाई सिरोही, अजमेरी, गुजरी, कोटा, तोतापुरी र साइन जातका बाख्रा पाल्न सिफारिस गरेको छ ।