• ११ पुस २०८१, बिहिबार

नेपाल र भारतको सम्बन्ध बहुआयामिक छ : मन्त्री गुरुङ

blog

फाइल तस्बिर ।

काठमाडौँ, कात्तिक २६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–भारतको सम्बन्ध भौगोलिकसँगै सांस्कृतिक, सामाजिक,  शैक्षिकलगायत बहुआयामिका रूपमा प्रगाढ रहँदै आएको बताउनुभएको छ । 

बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा सोमबार भएको ‘भारत–नेपाल फ्रेन्डसीप समिट २०२४: ग्लोबलाइजेसन एन्ड सोसियो–इकोनोमिक डेभलोपमेन्ट’ कार्यक्रममा मन्त्री गुरुङले नेपाल र भारतको शैक्षिक सम्बन्ध बलियो हुनसके दुवै देशबिचको ज्ञान सीप तथा कला कौशल आदानप्रदानमा सहज हुने बताउनुभयो । 

“दिगो विकासका लागि दुवै मुलुक सहकार्य गरेर अघि बढ्दै आएका छौँ”, मन्त्री गुरुङले भन्नुभयो । समिटले बौद्धिक र शैक्षिक बहस सिर्जना गर्ने तथा कुशल शैक्षिक नेतृत्व निर्माण गर्न सघाउ पुग्ने उहाँले धारणा राख्नुभयो । कार्यक्रममा मन्त्री गुरुङले हौसला स्वरूप विभिन्न शैक्षिक विधाका अब्बल व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुभएको थियो । 

ग्लोबल लिड्र्स फाउन्डेसनको प्रमुख आयोजना र काठमाडौँ मोडेल कलेजको सह–आयोजनामा उक्त समिट सम्पन्न भएको हो । फाउन्डेसनका प्रिन्सिपल रमेश त्रिपाठीले शैक्षिक क्षेत्रमा बहस गर्न समिट आयोजना गरिएको बताउनुभयो । रासस