कपिल ज्ञवाली
सिद्धार्थनगर, माघ २९ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएर आएको कांग्रेस आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो दल बन्ने दाबी गर्नुभएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा उदाउने उहाँको भनाइ छ ।
नेपाली कांग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ पार्टी सदस्य भेटघाट’ कार्यक्रममा उपसभापति शर्माले कांग्रेस बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताउनुभयो । “कांग्रेसले धेरै निर्वाचन जितेको छ, केही हारेको पनि छ । हारजित हाम्रा लागि नौलो होइन,” उहाँले भन्नुभयो, “तर यो निर्वाचन कुन दलले जित्ने भन्नेभन्दा पनि देशको भविष्यका लागि विशेष र गम्भीर छ ।”
उपसभापति शर्माले विगतका राजनीतिक घटनाक्रम र देशमा व्याप्त निराशाको गम्भीर समीक्षा गरेर मात्र मतदातासँग मत मागिने बताउनुभयो । उहाँले नयाँपन जन्ममितिले नभई सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुने चर्चा गर्दै भन्नुभयो, “साँच्चै बदलिएर र नयाँ भएर आएको पार्टी कांग्रेस नै हो । जेनजी विद्रोहले खोजेको परिवर्तनलाई कांग्रेसले नै सम्बोधन गर्छ ।”
सोही अवसरमा पूर्वगृहमन्त्री एवं कांग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले मुलुकको विकास र स्थिरताका लागि कांग्रेसको बहुमत आउनु जरुरी रहेको बताउनुभयो । उहाँले कांग्रेस नेतृत्वकै सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाएको स्मरण गर्दै यसको पूर्ण सञ्चालन पनि कांग्रेसकै नेतृत्वले गर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले मुलुकका विद्यमान समस्याको समाधान कांग्रेसले मात्र गर्न सक्ने बताउनुभयो । कार्यक्रममा रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरू हिराबहादुर खत्री (क्षेत्र नं १), चुन्नप्रसाद पौडेल (२), सुशील गुरुङ (३), आशुतोष मिश्र (४) र भरतकुमार शाहले (५) आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कांग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनाल, जिल्ला सभापति रामकृष्ण खाण, पूर्व केन्द्रीय सदस्य गङ्गा शाही, सचिव हरि काफ्लेलगायतले निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा मात्र नयाँ पुस्ताको माग सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।