गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २९ गते । नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबिच चारबुँदे समझदारी भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) ले बुधबार नेपालले कान्स फिल्म फेस्टिभल–२०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिभल आयोजना गर्ने, अडियो–भिजुअल स्टोरिटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटन प्रवर्धनबारे सामग्री उत्पादन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
समझदारी अनुसार प्रत्येक वर्ष हुने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपालको आधिकारिक पभेलियन स्थापना गरी नेपाली चलचित्र तथा नेपालका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचारप्रसार गरिने छ । त्यस्तै पोखरालाई चलचित्र र पर्यटनको सङ्गमस्थलका रूपमा विकास गर्न फिल्म फेस्टिभल आयोजना गरिने सहमति भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले चलचित्र छायाङ्कनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण र सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै चलचित्र बोर्डसँगको सहकार्यले उच्च सम्भावना बोकेका गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसै गरी चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले यो सहकार्य लामो यात्राको सुरुवात भएको बताउँदै प्रत्येक वर्ष कान्स फिल्म फेस्टिभलमा नेपालको उपस्थिति सुनिश्चित गर्दै चलचित्र क्षेत्रलाई विश्वमाझ स्थापित गरिने जानकारी दिनुभयो ।
समझदारीपत्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त रूपमा नेपाल प्रवर्धन गर्ने, नेपाललाई अडियो–भिजुअल उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा पूर्वाधार विकास र प्रवर्धन अभियान सञ्चालन गर्नेलगायतका विषय समेटिएका छन् । यस सहकार्यबाट पर्यटकको आकर्षण बढ्ने, स्थानीय अर्थतन्त्र चलायमान हुने, रोजगारी सिर्जना हुने र सांस्कृतिक आदानप्रदान सुदृढ हुने विश्वास लिइएको छ ।