• २९ माघ २०८२, बिहिबार

महानगरपालिकाभित्र सञ्चालित दुई डेन्टल क्लिनिक सिल गर्न सिफारिस

blog

डेन्टल क्लिनिकमा अनुगमन गर्दै ।

काठमाडौँ, माघ २९ गते ।नेपाल मेडिकल काउन्सिलले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित दुई डेन्टल क्लिनिकलाई सिल गर्न सिफारिस गरेको छ ।

बिहीबार काउन्सिलले चार डेन्टल क्लिनिकमा अनुगमन गर्दा दुई क्लिनिकले गैरचिकित्सकले काम गरेको पाइएपछि काउन्सिलले सिल गर्न काठमाडौँ महानगरपालिकालाई पत्र काटेको काउन्सिलका सदस्य डा.भुमेश काफ्लेले जानकारी दिनुभयो।

सर्वसाधारणबाट गुनासो आएपछि अनुगमन गरेको डा.काफ्लेको भनाइ छ।उहाँले भन्नुभयो, “गैरडाक्टरले काम गरिरहेका छन् । मापदण्ड पनि पुगेको छैन भन्ने जनगुनासो आएपछि अनुगमनमा गएका थियौ।जसमा दुई क्लिनिकमा गैरचिकित्सकले काम गरेको पाइएपछि काउन्सिलले सिल गर्न काठमाडौँ महानगरपालिकालाई पत्र काटेका छौँ ।”

उहाँकाअनुसार काउन्सिलले नाइस स्माइल डेन्टल केयर प्रालि र पूजा डेन्टल क्लिनिकलाई तत्काल बन्द गरी सिल गर्न सिफारिस गरेको छ भने ।पूजा डेन्टल क्लिनिक र नाइस स्माइल डेन्टलमा जनस्वास्थ्य सम्बन्धी न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “यी क्लिनिक सम्बन्धित निकायमा दर्ता नभएको, योग्य दन्त चिकित्सक तथा डेन्टल हाइजिनिस्ट नराखी सेवा सञ्चालन गरेको, अत्यधिक फोहोर तथा अस्वस्थकर वातावरणमा उपचार सेवा प्रदान गरेको भेटियो।साथै उपकरणहरूको स्टेरिलाइजेशन नगरेको, दन्त सामग्री अव्यवस्थित राखिएको, बिरामीको अभिलेख नराखिएको तथा एक्सरे मेसिन बिग्रिएको अवस्थामै प्रयोगका लागि राखिएको थियो ।” 

आरुबारी डेन्टल क्लिनिक जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको र सम्बन्धित चिकित्सकसँग औपचारिक सम्झौता पत्र नभएको पाइएको काफ्लेले जानकारी दिनुभयो ।उहाँका अनुसार नागेश्वर डेन्टल होममा फूलटाइम दन्त चिकित्सक नराखी पार्टटाइम चिकित्सकमार्फत मात्र सेवा सञ्चालन गरिएको भेटिएको छ।

काउन्सिलले यस्ता गतिविधिले सर्वसाधारणको मुख तथा दन्त स्वास्थ्यमा प्रत्यक्ष जोखिममा पारेको डा.काफ्लेको भनाइ छ । अनुगमनमा डा.अजय कुमार शाह र डा.अस्मिता पोखरेल डा.भुमेश काफ्ले र डा.हरी वली र रमिला मानन्धर सहभागी थियो ।