• १ फागुन २०८२, शुक्रबार

मतदाताहरुसँग अध्यक्ष ओलीको साक्षात्कार

blog

मतदातामाझ साक्षत्कार गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

झापा, माघ २९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एक हप्तासम्म झापा ५ का मतदातासँग भेटघाट र साक्षात्कार गरी काठमाडौं फर्कनुभएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आउनुभएका अध्यक्ष ओलीले तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग साक्षात्कार गर्नुभएको हो । 

निर्वाचन परिचालन कमिटीका कमाण्डर देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओलीले गौरादह, कमल र गौरीगञ्ज गाउँपालिकाका टोलमा मतदाताका स्याबासी, गुनासा र समस्या सुनेर काठमाडौं फर्कनु भएको छ। दमक नगरपालिकाका १० वटै वडाका करिब ४० वटा टोलमा फागुन ४ गतेपछि अध्यक्ष ओली मतदाता भेट्न जानुहुनेछ ।

 ‘तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग अध्यक्षले प्रत्यक्ष संवाद गर्नुभएको छ । मतदातासँग भेटेपछि उहाँ उत्साहित भएर फर्कनुभएको छ’ संयोजक दाहालले भन्नुभयो  ‘मतदाताले उहाँलाई खुलेर प्रश्न गरेका छन् । गुनासा राखेका छन् । समस्या सुनाएका छन् । राष्ट्र र राष्ट्रियताको पक्षमा अडान लिएकोमा धन्यवाद पनि दिएका छन् ।’

कमल गाउँ कमिटीका अध्यक्ष हरि ढकालका अनुसार अध्यक्ष ओली मतदाता र निर्वाचन क्षेत्रबाट टाढिने नेता हुनुहुन्न । कतिपय नेताहरु निर्वाचन जितेपछि भूगोलतिर नफर्किने भनेर आलोचना खेप्छन् । तर ओलीलाई त्यो समस्या छैन । ‘२०७४ पछि प्रधानमन्त्री भएका बेला पनि उहाँ कम्तीमा दुई महिनामा एक पटक निर्वाचन क्षेत्र आउनुहुन्थ्यो’ ढकालले भन्नुभयो,  ‘यसपटक पनि भदौ २७ गते निर्वाचन क्षेत्रमा कार्यक्रम राखेका थियौं । भदौ २३ र २४ को घटनापछि स्थितिले नयाँ मोड लियो ।’

निर्वाचन परिचालन कमिटीका सचिव नारायण गौतमका अनुसार कमल गाउँपालिकाका ३० वटा टोलमा अध्यक्षले भेटघाट गर्नुभएको छ । भेटघाटमा मतदाताले स्थानीय ठाउँको विकास,रोजगारी,शिक्षा तथा अस्पताल निर्माणका मागहरु राखेका छन् । ‘अधिकांश मतदाताले स्थानीय विषयलाई नै प्रमुख मुद्दा बनाएर अध्यक्षसँग प्रस्तुत गरेका छन्’ गौतमले भन्नुभयो । 

 पश्चिम दक्षिण झापाको गौरादह ६ का मतदाता जयराम सापकोटाका अनुसार रतुवाको कटानमा परेका यस क्षेत्रका मतदाताले रतुवा खोलामा  स्थायी तटबन्धन,यही खोलामा पक्की र झोलुंगे पुल र अस्पताल निर्माणको माग गरेका छन् । 

यस्तै दामुना बजारका मतदाताले पार्टीका अन्तरविरोध मिलाइदिन कार्यकर्तालाई जनतासँग जोडिन र सुशासनलाई व्यबहारमा उतार्न माग गरेका छन् । उनीहरुले स्थानीय तहका जनप्रतिनिधि,मुख्यमन्त्री लगायत यस क्षेत्रका जनप्रतिनिधिलाई जनता समस्यामा गम्भीर भइदिन सम्झाइ दिन आग्रह गरेका छन् । वडा नं ६ कै सिंगीयाडुबाका बासिन्दाले अध्यक्ष ओलीलाई नेपाली कागजमा ६ बुँदे माग लिखित रुपमा पेश गरेका छन् । 

दक्षिण झापाको ग्वालडुब्बा निवासी प्रदेश कमिटी सदस्य अमर शिवाकोटीका अनुसार एक हप्तामा अध्यक्ष ओलीले हजारौं मतदातालाई भेट्नु भएको छ । अध्यक्ष ओली ‘फस्र्ट हेण्ड इन्फरमेसन’ मा विश्वास गर्ने नेता भएकोले धेरै मतदाता भेट्न गाउँ गाउँ पुग्नु भएको हो । ओली यस अघिका निर्वाचनमा पनि यसैगरी गाउँ गाउँ जाने गरेको शिवाकोटी बताउनुहुन्छ ।