• १२ पुस २०८१, शुक्रबार

प्रदेशमै आएन विपत्बाट भएको क्षतिको विवरण

blog

मकवानपुर समाचारदाता

हेटौँडा, कात्तिक २३ गते  । गत असोजको दोस्रो साता अविरल वर्षापछि आएको बाढीपहिरोबाट धेरै क्षति भएको बागमती प्रदेशका विभिन्न जिल्लामा विपत्बाट भएको धनजनको क्षतिको विवरण अझै बागमती प्रदेश सरकारसमक्ष पुग्न सकेको छैन । बाढीपहिरो गएर क्षति भएको एक महिनाभन्दा बढी भइसक्दा पनि प्रदेशमा विपत् हेर्ने जिम्मेवारी पाएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जिल्लाहरूबाट क्षतिको विवरण उपलब्ध नभएको हो । 

प्रदेशका १३ जिल्लामध्ये दुई वटा जिल्लाबाट मात्र बाढीपहिरो भएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी वविता कार्कीले दोलखा र धादिङ जिल्लाबाट मात्र क्षतिको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुभयो । उहाँले विवरणका लागि जिल्ला प्रशासन कार्यालयलाई ताकिता गर्दासमेत सीमित जिल्लाबाट मात्र विवरण प्राप्त भएको र कतिपय स्थानीय तहले विवरण पठाएको भन्दै क्षतिको विवरण सिधै गृह मन्त्रालयलगायतका निकायमा उपलब्ध गराएर यहाँ नपठाउँदा विपत्पछिको कार्यसम्पादनमा समस्या भएको बताउनुभयो । 

उहाँले क्षतिको विवरण उपलब्ध नभएपछि विपत्सम्बन्धी पोर्टलबाट समेत तान्ने काम भएको बताउँदै पुनः जिल्लाहरूलाई पत्राचार गरी उपलब्ध गराउन ताकिता गरिने र उपलब्ध भएपछि विवरण एकीकृत गरी विपत्पछिको पुनर्निर्माणका कामलाई अगाडि बढाउन सहज हुने बताउनुभयो । प्रदेश सरकारले बाढीपहिरोपछि उद्धार, खोजी, राहतलगायतका कार्यका लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई सहयोग रकम निकासा गरेको छ ।

यस्तै प्रदेशका १३ वटै जिल्ला विपत् व्यवस्थापन समितिलाई पाँच/पाँच लाख रुपियाँ बाढीपहिरोपछि उद्धार, खोजीलगायतका कार्यका लागि र नौ वटा जिल्लालाई मृतकका परिवारलाई राहत वितरण गर्ने गरी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ ।

काभ्रेपलाञ्चोक जिल्लालाई ६० लाख, ललितपुर जिल्लालाई ३० लाख, काठमाडौँ र सिन्धुपाल्चोकलाई २०/२० लाख तथा दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र भक्तपुर जिल्लामा १०/१० लाख रुपियाँ जिल्ला विपत् व्यवस्थापन कोषमा निकासा गरी राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले विपत् अति प्रभावित ४५ जिल्लालाई बाढीपहिरोबाट भएको क्षति र जोखिमका आधारमा तीन वर्गमा विभाजन गरी राहत उपलब्ध गराउन स्थानीय तहलाई पाँच करोड ८० लाख रुपियाँ निकासा गरेको थियो । 

सात वटा पालिकालाई २० लाखका दरले एक करोड ४० लाख, १२ वटा पालिकालाई १५ लाखका दरले एक करोड ८० लाख र २६ पालिकालाई १० लाखका दरले दुई करोड ६० लाख रुपियाँ राहत रकम उपलब्ध गराइएको थियो । 

थप राहत रकम निकासा

सङ्घीय सरकारले विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बागमती प्रदेशका काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरका नौ स्थानीय तहलाई बागमती प्रदेश सरकारले थप राहत रकम प्रदान गरेको छ । 

विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमध्ये काभ्रेपलाञ्चोकको रोसीलाई १२ लाख र अन्य स्थानीय तहलाई १०/१० लाख उपलब्ध गराइएको छ । साथै विपत् अति जोखिममा परेका दक्षिणकाली नगरपालिका, महालक्ष्मी नगरपालिका र थाक्रे गाउँपालिकालाई थप १०/१० लाख गरी एक करोड ३२ लाख रुपियाँ स्थानीय तह विपत् व्यवस्थापन कोषमा निकासा गरिएको मन्त्रालयका सूचना अधिकारी कार्कीले बताउनुभयो । 

उता गत असोजको दोस्रो साता अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मकवानपुर जिल्लामा १० जनाको मृत्यु र एक अर्ब रुपियाँभन्दा बढीको क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहहरूबाट हालसम्म जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराइएको प्रारम्भिक विवरण अनुसार गत असोजको दोस्रो साता आएको बाढीपहिरोबाट कृषिबाली, पशुपन्छी, निजी आवास र सार्वजनिक भौतिक संरचना गरी एक अर्ब ६९ लाख ३५ हजार ७३५ रुपियाँ बराबरको क्षति भएको जनाएको छ ।

मकवानपुरमा बाढीपहिरोबाट सबैभन्दा बढी क्षति पु¥याएको इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकालाई विपत् सङ्कटग्रस्त स्थानीय तह घोषणा गरिएको छ ।