• २३ मंसिर २०८१, आइतबार

बजार अनुगमनको नतिजा ९७ प्रतिशत फर्ममा समस्या

blog

काठमाडौँ, कात्तिक २३ गते । काठमाडौँ उपत्यकाका ९७ प्रतिशत फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा चाडपर्वलक्षित अनुगमनमा त्यस्तो भेटिएको हो । विभागले ८७९ वटा व्यावसायिक फर्मको अनुगमन गरेकोमा २८ वटाबाहेक अन्य व्यावसायिक फर्ममा कुनै न कुनै कैफियत देखिएको हो । 

विभागको नेतृत्वमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग, आन्तरिक राजस्व विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, पशुपन्छी विभाग, कृषि, पशुु विभागले संयुक्त रूपमा असोज १ देखि कात्तिक २० गतेसम्म संयुक्त बजार अनुगमन गरेका थिए । 

विभागका अनुसार सो अवधिमा अनुगमन गरेकोमा १३१ व्यावसायिक फर्मलाई न्यूनतम पाँच हजारदेखि बढीमा तीन लाख रुपियाँसम्म आर्थिक जरिबाना गरिएको छ । यस्तै सो अवधिमा उपभोग्य म्याद सकिएका सामान बिक्री गरेका १३ वटा व्यावसायिक फर्मबाट एक लाख २२ हजार बराबरको सामान नष्ट गरेको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस अवधिमा अनुगमन गरिएका फर्ममध्ये ४२४ वटालाई आवश्यक सुधारका लागि निर्देशन दिइएको छ भने २९३ वटालाई व्यवसाय दर्ता नवीकरणको निर्देशन, स्पष्टीकरण तथा बयानका लागि आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

विभागका महानिर्देशक पौडेलले विभागले दैनिक उपभोग्य वस्तु, खाद्यवस्तु, तरकारी, फलफूल, माछामासु पसल, औषधी, मिठाई पसल तथा होटेल, विद्युत् पसल, भाँडा पसललगायत क्षेत्रमा विभिन्न २७/२८ वस्तु वा सेवामा केन्द्रित गरेर अनुगमन गर्दा तोकिएभन्दा चर्को मूल्यमा बिक्रीवितरण भइरहेको, न्यून गुणस्तर, लेबल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेकोलगायतका समस्या देखिएको जानकारी दिनुभयो । 

सो अवधिमा विभागले पछिल्ला दिनमा औसत २० वटा व्यावसायिक फर्ममा अनुगमन गरिरहेको थियो । दसैँतिहार, छठलगायत चाडबाडका बेला उपभोक्ता बढी ठगिने र बजारमा बढी समस्या देखिने भएकाले अनुगमन बढाइएको पौडेलले जानकारी दिनुभयो । 

खाद्य तथा किरानामा धेरै कैफियत

अनुगमनका क्रममा सबैभन्दा धेरै खाद्य तथा किराना पसलको अनुगमन भएको छ । सो अवधिमा अनुगमनका क्रममा जरिबानामा परेका १३१ व्यावसायिक फर्ममध्ये ६४ वटा खाद्य तथा किराना पसल रहेका छन् । ती पसललाई २८ लाख १२ हजार जरिबाना गरिएको छ ।

होटेल तथा रेस्टुरेन्ट गरी १६ वटामा अनुगमन गरेर २२ लाख ७५ हजार जरिबाना गरेको विभागले जनाएको छ । 

सो अवधिमा रेडिमेड तथा थान कपडा, कस्मेटिक, फेन्सी, जुत्ताचप्पल गरी २१ वटा व्यावसायिक फर्मलाई चार लाख ३० हजार, माछामासु, तरकारी तथा फलफूल गरेर आठ वटा व्यावसायिक फर्मलाई एक लाख रुपियाँ बराबरको जरिबाना गरिएको छ । दुध डेरी उद्योग र मिठाई गरी पाँच वटालाई दुई लाख पाँच हजार, तीन वटा औषधी तथा जडीबुटी र फार्मेसी गरेर चार वटा फर्मलाई ७५ हजार, मदिरा एवं सुर्तीजन्य वस्तुका छ वटा व्यावसायिक फर्मबाट एक लाख ४० हजार रुपियाँ जरिबाना भएको छ । सो अवधिमा इलेक्ट्रिक, भाँडाकुँडा, ग्यास, फर्निचर, हाडवेयर, स्टेसनरी गरी सात वटा व्यावसायिक फर्मलाई एक लाख जरिबाना गरिएको विभागले जनाएको छ ।

सुध्रिएन बजार

विभागको नेतृत्वको संयुक्त बजार अनुगमनबाट सङ्ख्यात्मक रूपमा धेरै प्रगति देखिए पनि गुणात्मक रूपमा सुधार भएको पाइँदैन । 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजार अनुगमन गरेर सङ्ख्या बढाएर मात्रै बजारको अवस्था नसुध्रिने बताउनुभयो । उहाँको अनुभवमा बजारमा कालोबजारी र म्याद नाघेका वस्तुको बिक्री ठुला व्यापारिक फर्मबाट खुलेआम रूपमा भइरहेको छ तर सरकारका नियमनकारी निकायले त्यस्ता व्यावसायिक फर्मविरुद्धमा विभिन्न दबाब र प्रभावका कारण नियमन गरेर कारबाही गर्न सकेका छैनन् ।