• १० मंसिर २०८१, सोमबार

पर्यटकले लगाए भाइटीका

blog

भाइटीका लगाउँदै पर्यटक ।

रमेश पौडेल

पोखरा, कात्तिक २० गते । नेपाली संस्कृति संरक्षणसँगै पर्यटन उद्योगको प्रवर्धन गर्ने उद्देश्यले पोखरामा आयोजना गरिएको भाइटीका महोत्सवमा १२ देशका ५९ पर्यटकले नेपाली दिदीबहिनीका हातबाट भाइटिका लगाएका छन् । 

होटेल सङ्घ पोखरा नेपाल (हान) को आयोजनामा गरिएको सो महोत्सव विगत सत्र वर्षदेखि निरन्तर रूपमा हुँदै आएको आयोजक सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । 

पोखराको वाराही चोकस्थित होटेल ल्यान्डमार्कमा भएको उक्त महोत्सवका सहभागी पर्यटकलाई रेन्बो चिल्ड्रेन होम नेपालका छात्राले टीका लगाइदिएका थिए । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरूलाई टीका लगाइएको पर्यटन व्यवसायी हानका सचिव पार्वता पाण्डेले जानकारी दिनुभयो । 

सप्तरङ्गी टीका ग्रहण गरेका पर्यटकलाई छात्राले ढाका टोपी लगाई सेलरोटीलगायतका परिकार खुवाएका थिए । 

कार्यक्रममा आयोजित देउसीभैलो र नाचगानमा पर्यटक रमाएको अध्यक्ष सुवेदीले जानकरी दिनुभयो । आफ्नो नेपाली नाम लीला राखेकी एक जना चिनियाँ पर्यटकले भाइटीका लगाउन पाउँदा आफू प्रफुल्लित भएको र पोखरा सहर पनि आफूलाई उत्तिकै सुन्दर लागेको बताउनुभयो । अध्यक्ष सुवेदीका अनुसार एक जना अस्ट्रेलियन नागरिकले अहिले समेत गरी चौथो पटकसम्म पोखरामा आएर भाइटीका लगाउनुभएको छ ।   

महोत्सवमा इजरायल, रसिया, चीन, पोल्यान्ड, अमेरिका, बेलायत, जर्मनी, स्पेन, भारत र जापानलगायतका देशबाट पर्यटकले भाइटीकामा सहभागिता जनाएको सङ्घका महासचिव राजेन्द्र ढकालले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकालगायत निजी क्षेत्रका अन्य संस्थाले महोत्सवको प्रवर्धन गरेका थिए ।