विजयकुमार साह
ढल्केबर, चैत २० गते । शिक्षा विकास तथा समन्वय एकाइ धनुषाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्र रूपमा अगाडि बढाएको छ । जिल्लाका ४५ वटा केन्द्रमार्फत उत्तरपुस्तिका जाँच भइरहेको एकाइ प्रमुख चेतकुमार पोखरेलले जानकारी दिनुभयो ।
सरकारले यस वर्षदेखि एसइईको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने निर्णय गरेसँगै परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षणको प्रक्रिया थालिएको हो । एकाइ प्रमुख पोखरेलले भन्नुभयो, “समयमै नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार सबै केन्द्रमा परीक्षण कार्य सुरु भइसकेको छ । जिल्लाभरका ४५ केन्द्रबाट सङ्कलित उत्तरपुस्तिका सुरक्षित रूपमा राखेर जाँच भइरहेको छ ।”
उत्तरपुस्तिका परीक्षण कार्यलाई व्यवस्थित र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । यस कार्यमा माध्यमिक तहमा अध्यापन गराउँदै आएका अनुभवी एवं विषयगत करिब दुई सयभन्दा बढी शिक्षक खटिएका छन् ।
उत्तरपुस्तिका परीक्षण भइरहेका अधिकांश केन्द्रमा सीसीटीभी क्यामरा जडान गरिएको छ । केही केन्द्रमा क्यामरा जडान गर्न बाँकी रहेको र त्यसका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको एकाइ प्रमुख पोखरेलले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर शान्तपूर्वक परीक्षा सम्पन्न भएको छ र अबको लक्ष्य समयसीमाभित्रै उत्तरपुस्तिका परीक्षण कार्य सक्नु रहेको छ ।