• १८ पुस २०८१, बिहिबार

दुई सय ७० वर्ष पुरानो रोटे पिङ

blog

दुतिया मेलामा लगाइएको रोटे पिङ । तस्बिर : राधा लुइटेल


राधा लुइटेल
फिदिम,कात्तिक १९ गते ।
 पाँचथरमा तिहारको भाइटिकाको दिनदेखि मेला लाग्छ, जसको इतिहास दुई सय ७० वर्ष पुरानो छ । जुन मेला फाल्गुननन्द गाउँपालिका वडा नम्बर ६ र ७ को सङ्गम स्थलमा ओसाँगु बजारमा लाग्दै आएको हो । दुतिया नाम दिइएको मेला बजार लाग्ने ठाउँमा रोपिने मौलिक प्रकृतिको रोटेपिङको इतिहास पनि उत्तिकै पुरानो छ । पिङ यहाँ बसोबास गर्ने लिम्बू समुदायका पुर्खा सासोरसिंह स्थापना गर्नुभएको इतिहास छ ।

सासोरसिंह कुरुम्वाङले विक्रम संवत् १८११ सालमा यो ठाउँमा पहिलोपटक मेला लागेको जानकारहरू बताउँछन् । इतिहासका जानकार अम्बर आङदेम्बेका अनुसार विवाह गरेको ३८ वर्षसम्म पनि सासोरसिंहको  छोराछोरी नभएपछि देवी देवता भाकल गर्न यासोकमा अवस्थित कुम्मायक कुस्सायक मन्दिरमा पुग्नुभएको थियो । तर त्यहाँ लावती वंशीय लिम्बूहरूले उहाँलाई दर्शन गर्न रोक लगाएका थिए । त्यसपछि उहाँले ओसाँगुमै कुम्मायक र कुस्सायक गरी दुई शक्तिपिठको स्थापना गर्नुभयो । त्यसैलाई कुम्मायक कुस्सायकको स्वरूप मानेर आराधना गर्दा दुई सन्तान जन्मिएको विश्वास छ ।

दुई सन्तान सासोरसिंले वसाँगुमा रोटे पिङ निर्माण गरेर गाउँलेलाई बोलाएर खुसी बाँड्नुभयो । विक्रम संवत् १८११ मा लगाएको पहिलो मेला औँसी र पूर्णिमा लाग्थ्यो । करिब एक सय वर्ष अघिदेखि त्यही मेला भाइटिकाका दिनदेखि सुरु हुन थालेको हो ।

सोरसिंह जीवित रहुन्जेल उहाँकै नेतृत्वमा मेला लाग्थ्यो भने अहिले उहाँको निधन पश्चात् सन्ततिले मेलालाई निरन्तरता दिइरहेको स्थानीय डिगम कुरुम्वाङ बताउन्नुहुन्छ ।

दसैँ अगाडि थापिने रोटे पिङ तिहार र छठ पर्वसम्म निरन्तर चल्छ भने बाँकी समय झिकेर थन्क्याइन्छ । पिङ संरक्षणका लागि युवाहरूले भएको समितिले पिङ राख्ने, झिक्ने र मर्मत गर्ने काम गर्छ ।

मेलामा आएकाहरूलाई निःशुल्क रूपमा खेलाइन्छ । झगडा नहोस् भनेर स्वयम् सेवक परिचालन गरिन्छ । मेला व्यवस्थापनका लागि प्रत्येक वर्ष आयोजक समिति गठन हुन्छ । यो वर्ष मेला व्यवस्थापनको नेतृत्व स्थानीय अमर आङदेम्वेले गरिरहनुभएको छ ।

पिङमा चारवटा पिरा छन् । एउटा पिरामा एक पटकमा २ जनाका दरले ८ जनाले खेल्न मिल्छ । तर भार क्षमताको जोखिम टार्न एउटा पिरामा एक जनालाई मात्रै खेलाइन्छ । मेलामा खेल संयोजकको जिम्मेवारी सम्हालिरहेका डिगम् कुरुम्वाङले पिरा बिग्रिए स्थानीय सरकारले मर्मत गर्न खर्च उपलब्ध गराउँदै आएको बताउनुभयो ।

पिङ मेला लाग्ने स्थलमै थापिन्छ । मेलामा भलिबल प्रतियोगिता पनि आयोजना हुन्छ । यो वर्ष भलिबल प्रतियोगिता आयोजना गर्न थालिएको ५० वर्ष पुगेको छ ।

दशक लामो सशस्त्र द्वन्द्वकाका कारण ग्रामीण भेगमा लाग्ने मेला, जात्रा र उत्साहरु रोकिए । तर त्यतिबेला ओसाँगु मेला रोकिएनन् । मेलासँगै भलिबल प्रतियोगिता र पिङ चलिरह्यो । कोभिड १९ का समयमा पनि स्वास्थ्य मापदण्ड पालना गर्दै मेलालाई निरन्तरता दिइयो ।