• २५ पुस २०८१, बिहिबार

राष्ट्रिय झण्डा सिलाउने पेसामा रमाएका इद्रिसी

blog

राष्ट्रिय झण्डा सिलाउनुहुँदै अनवर अली इद्रिसी । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, कात्तिक १६ गते । 
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, फुल्टेक्रा रोडमा टेलर पसल सञ्चालन गर्दै आउनुभएका ७२ वर्षीय अनवर अलि इद्रिसी नेपाली राष्ट्रिय झन्डा सिलाउने पेसामा वर्षौँदेखि रमाइरहनुभएको छ ।

“मेरो बाजे, बुवादेखि नेपाली राष्ट्रिय झन्डा सिलाउने पेसामा हुनुहुन्थ्यो, मैले पनि सानैदेखि यो सीप सिकेँ, सीप सिकेपछि मैले पनि यही पेसालाई व्यावसायिक रूपमा अगाडि बढाएको छु ।,” इद्रिसीले भन्नुभयो, “अब म पछि भने यो पेसा यहीँ समाप्त हुने भो, छोराले झन्डा सिलाउने पेसा गर्दैन, अन्य पेसामा हात हालेको छ ।”

“मैले आफैँले झन्डा सिलाउने पसल सुरु गरेको ४० वर्ष पुग्यो, सुरुमा कमाइ राम्रै थियो, झन्डा सिलाएर पुर्‍याउनका लागि देशका विभिन्न जिल्लाका कुना-कुनामा पुगेको छु, पहिला नेपालगन्जमा मैले मात्र झन्डा सिलाउँथे, अहिले अर्को एउटा पसल पनि थपिएको छ ।,” इद्रिसीले भन्नुभयो, “पहिला जस्तो कमाइ पनि अहिले छैन, अर्डर पनि धेरै आउन छोड्यो, सायद छोराले यही भएर पनि होला यो पेसामा हात हालेन ।”

“पहिला राजाका पालामा सिलाएको झन्डा बोकेर देशका धेरै जिल्लामा पुगेको छु, राजाको सवारी हुँदा स्वागतका लागि गेट बनाइन्थ्यो, बनाइएका गेट र राजा जाने ठाउँमा जताततै राष्ट्रिय झन्डा लगाउने चलन थियो ।,” उहाँले भन्नुभयो, “स्वर्गीय राजा वीरेन्द्रसँग ३÷४ पटक भेट पनि भयो, दिपायल, धनकुटा, सुर्खेत, धरान, पाल्पा लगायत धेरै ठाउँमा राजाको सवारीमा झन्डा लगेर पुगेको छु, सुर्खेत जाँदा त आर्मीको हेलिकप्टरमा झन्डा लगेर गएको थिएँ, अन्तिम पटक २०४० सालमा पाल्पाको तानसेनमा राजाको सवारी हुँदा यहाँबाट झन्डा लगेर पुगेको थिएँ, राजालाई मैले नेपाली राष्ट्रिय झन्डा बनाउँछु भनेँ राजाले टाउको हल्लाउनुभयो ।”

झन्डा सिलाउनका लागि विभिन्न जिल्लाका सरकारी कार्यालय तथा सङ्घसंस्थाबाट अर्डर आउने गरेको तथा स्टेशनरी पसलबाट पनि अर्डर आउने गरेको उहाँले बताउनुभयो । झन्डा लगाउने कतिपय सरकारी कार्यालय तथा सङ्घसंस्थाले झन्डाको साइजको मापदण्ड समेत थाहा नभएको आफूले पाएको उहाँले बताउनुभयो ।

“गृह मन्त्रालयले राष्ट्रिय झन्डाको साइजको एउटा मापदण्ड बनाएको छ, मापदण्ड अनुसार सरकारी कार्यालयहरूका लागि ८ बाइ ६ फुट (८ फुट लम्बाई, ६ फुट चौडाइ), सङ्घसंस्थाका लागि ६ बाइ ४ फुट, विद्यालयहरूका लागि ४ बाइ ३ फुट र टेबुलमा राख्ने तथा मन्त्रीको गाडीमा हाल्ने १२ बाइ ७ इन्चको सानो साइजको बनाउनुपर्छ ।,” उहाँले भन्नुभयो, “तर अहिले पछिल्लो समयमा खुलेका कतिपय पसलहरूले उक्त मापदण्ड अनुसार सिलाउँदैनन्, कार्यालयका हाकिमहरू पनि त्यति मत्लब गर्दैनन्, जस्तो भए पनि कर्मचारीले लान्छन्, अफिसमा झुन्डाउँछन्, सरकारी मापदण्ड लत्त्याउँछन्, तर यो गलत हो ।”

पछि खुलेका पसलहरूले झन्डाको बोर्डरको कलर समेत नमिलाउने, उच्च स्तरको कपडाको प्रयोग नगर्ने, बिना साइजको बनाउने र सस्तोमा बिक्री गर्दै आएको उहाँको अनुभव छ । “कतिपय झन्डा सिलाउनेहरूले कमसल कपडा प्रयोग गर्ने गर्छन्, झन्डाको बोर्डरको कलर समेत मिलाउँदैनन्, मापदण्ड अनुसार पनि हुँदैन र सस्तोमा बिक्री गर्छन् ।” इद्रिसीले भन्नुभयो, “मैले सिलाउने झन्डालाई ८ बाइ ६ लाई एक हजार, ६ बाइ ४ लाई सात सय, ४ बाइ ३ लाई तीन सय पचास र १२ बाइ ७ इन्चको लाई एक सय रुपियाँमा बिक्री गर्दै आएको छु, तर कमसल कपडा प्रयोग गरे ठुलो साइज वालामा दुई सयसम्मको रेट कम पर्छ ।”

इद्रिसीले नेपाली राष्ट्रिय झन्डा बाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको झन्डा र कपडाको नेम प्लेट पनि सिलाउने गरेको बताउनुभयो । “जीवन यही पेसामा बित्यो, झन्डा बाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको झन्डा र कपडाको नेम प्लेट पनि सिलाउने गरेको छु, यसबाहेक अन्य कपडा कहिल्यै सिलाइन, जे जस्तो भए पनि यही पेसामा नै रमाइरहेको छु ।” इद्रिसीले भन्नुभयो ।