• १६ चैत २०८०, शुक्रबार

मतगणनामा ढिलाइ, निर्वाचन आयोगको ध्यानाकर्षण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २ गते । स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्र होइन, आफूले मतदान गरेका उम्मेदवारले कस्तो परिणाम ल्याउलान् भन्ने चासो सबै मतदातामा उत्तिकै छ । मतदाताको व्यग्र प्रतीक्षा भए पनि मतगणना भने निकै सुस्त गतिमा भइरहेको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मतगणना निकै ढिलो भएको छ । 

निर्वाचन आयोगले जेठ ५ अगावै मतगणना सम्पन्न गर्ने दाबी गरे पनि अहिलेको मतगणना विधिमा सुधार नगरिए सम्पूर्ण मत परिणाम आउन धेरै समय लाग्ने देखिएको छ । एउटै वडाको मतगणना गर्न ४० घण्टासम्म लागेपछि निर्वाचन आयोगले भनेजस्तो बिहीबारसम्ममा परिणाम आउन सक्नेमा शङ्का थपिएको छ । 

ललितपुर महानगरपालिकामा निर्वाचन सम्पन्न भएको दुई दिन बित्दा जम्मा एउटा वडाको मात्र मतगणना सम्पन्न भएको छ । आइतबार साँझ ६ बजे समाचार तयार पार्दा वडा नं. २, ३ र ४ को मतगणना भइरहेको थियो । ललितपुर महानगरपालिका–५ का वडाध्यक्षका उम्मेदवार सञ्जीव पाण्डेले आफ्नो वडाको मतगणना कहिले होला भनेर प्रतीक्षा गर्दागर्दै हैरान भइसकेको बताउँदै भन्नुभयो, “मतगणना निकै ढिलो भइरहेको छ ।” 

विभिन्न स्थानमा मतगणना भइरहँदा सामान्य मानवीय त्रुटि, समय–समयमा सार्वजनिक गरिएको तथ्याङ्कमा भएका फेरबदलका विषयलाई लिएर मतगणनामा खटिएका कर्मचारी, राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिबीच विवादका कारण मतगणना प्रभावित भएको छ । आइतबार चितवनको भरतपुरमा पनि मतपत्रमा मसी लतपतिएको विषयलाई लिएर मत सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद भएपछि केही बेरका लागि मतगणना स्थगित गरेर पुनः सुचारु भएको थियो । काभ्रेको बेथानचोक गाउँपालिका–१ मा सम्पन्न भइसकेको मतगणना पुनः गणना गर्नुपर्ने माग राखिएका कारण एक दिन रोकिन पुगेको छ । 

यसैबीच निर्वाचन आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्त्विक असर नपर्ने किसिमका मानवीय त्रुटिका विषयमा विवाद गरेर मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना ढिलाइ गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  

आयोगले लक्षित मितिभित्रै मतगणना सम्पन्न गर्न जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापनका लागि आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले उपलब्ध भएसम्म नेपाल सरकार र प्रदेश सरकारका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउने बताउनुभयो । उहाँले स्थान उपलब्ध भएसम्म मतगणना टोली बढाएर मतगणना छिटोभन्दा छिटो सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो ।