सन्तोष दहित
दाङ, वैशाख ९ गते । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पन्ध्रौं बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ ।
कार्यसूची अनुसार बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्नेछन् । त्यसपछि प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा सार्वजनिक लेखा समितिका सभापति माया पुनले समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम पनि रहेको छ । यसैगरी, बैठकमा विपक्षी दलका नेता जोखबहादुर महराले विशेष सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।