• १३ साउन २०८१, आइतबार

मकवानपुरको इन्द्रसरोवरमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी

blog

कवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्षमा निर्वाचित एमालेका हिदम लामा । तस्बिर : गोरखापत्र

राममणि दाहाल

हेटौँडा, जेठ २ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका देवकृष्ण पुडासैनी शर्मा र उपाध्यक्षमा उमाकुमारी लामा निर्वाचित हुनुभएको हो ।

इन्द्रसरोवर गाउँपालिकाका निर्वाचन वस्तीले अध्यक्षमा विजयी एमालेका शर्माले तीन हजार ७२२ मत प्राप्त गर्नुभएको जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धि नेपाली काँग्रेसका विश्वलाल लामाले तीन हजार ४७२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा पुनः निर्वाचित लामाले तीन हजार ७२५ मत प्राप्त गर्दा काँग्रेसकी निर्मला रुम्बाले तीन हजार ६५६ मत ल्याउनुभएको छ ।

पाँच वटा वडा रहेको यस पालिकामा काँग्रेसका तीन र एमालेका दुई वडाध्यक्ष विजयी भएका छन् । काँग्रेसबाट वडा नं. १ मा सुवास थापा मगर, २ मा सुमन श्रेष्ठ र ५ मा दुतराज तितुङ तथा एमालेबाट वडा नं. ३ मा प्रताप भोम्जन र ४ मा चन्द्रकुमार बल वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।

यस्तै भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा पुनः निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा सत्तारुढ गठबन्धनबाट काँग्रेसका सञ्जीव श्रेष्ठ विजयी बन्नुभएको छ ।  लामाले गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का बद्रीबहादुर स्याङ्तानलाई पराजित गर्नुभएको हो ।

भीमफेदी गाउँपालिकाका निर्वाचन अधिकृत रुद्रहरि भण्डारीका अनुसार एमालेका लामाले पाँच हजार ५९१ र उहाँका प्रतिस्पर्धि गठबन्धनका स्याङ्तानले पाँच हजार २०९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा १६ मत अन्तरले एमालेका पार्वती राना काँग्रेसका श्रेष्ठसँग पराजित हुनुभएको छ । श्रेष्ठले पाँच हजार ३१५ र रानाले पाँच हजार २९९ मत प्राप्त गर्नुभएको छ ।

नौ वटा वडा रहेको उक्त पालिकामा एमालेले पाँच, काँग्रेसले तीन र एकीकृत माओवादीले एउटा वडाध्यक्ष जितेको छ । वडाध्यक्षमा एमालेबाट वडाध्यक्षमा वडा नं. २ मा काशीराम बज्यु, ४ मा सागर पाण्डे, ५ मा जाहारसिंह लामा, ८ मा विष्णुबहादुर लामा र ९ मा प्रकाश पुडासैनी निर्वाचित हुनुभएको छ । यसैगरी वडाध्यक्षमा काँग्रेसबाट वडा नं. १ मा सोमबहादुर स्याङ्तान, वडा नं. ६ मा सोमबहादुर घलान र वडा नं. ७ मा मित्रवन्धु सिन्जाली तथा माओवादी केन्द्रबाट वडा नं. ३ मा प्रितिलाल लामा विजयी हुनुभएको छ ।