• १३ साउन २०८१, आइतबार

बालेन समर्थकको बेग्लै रौनक

blog

सविता शर्मा/देवबहादुर कुँवर 

काठमाडौँ, जेठ २ गते । काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर रमाइलो मेलाजस्तै भीड लागेको छ । राष्ट्रिय झन्डा बोकेका युवा सभागृह अगाडिको सडक प्रदर्शनीमार्गमा मार्चपास गरेजस्तो गरी घरी यता घरी उता गर्छन् । 

काठमाडौँ महानगरपालिकाको प्रमुख, उपप्रमुख, ३२ वटै वडाध्यक्ष र सदस्यहरूको मतपरिणाम नतिजा घण्टा–घण्टामा सार्वजनिक हुने गरेको छ । तर अन्य उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्रनारायण साह (बालेन) को नतिजा आउनेबित्तिकै नाराबाजी गर्नेको भीड बाक्लो देखिन्छ । 

स्वतन्त्रका उम्मेदवार बालेन समर्थकको भीडका कारण मानौँ त्यहाँ अन्य प्रमुख राजनीतिक पार्टीको उपस्थिति नै छैन जस्तो माहोल सिर्जना भएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका कार्यकर्ताको चहलपहल भए पनि उनीहरू मौन छन् । 

मतगणनाका क्रममा बालेनले अग्रता लिइरहँदा उहाँका समर्थकले लगाउने नारा पनि राजनीतिक पार्टीको भन्दा फरक छन् । जस्तो ‘राष्ट्रिय झन्डा फरर, भ्रष्टाचारी थरर’ । ‘काठमाडौँ महानगरवासी के भन्छन्’, ‘बालेन साहलाई ले भन्छन्’, ‘सागर, वसन्ते, कृष्णे, बालेनले हो जित्ने’ आदि छन् ।

बालेन समर्थकको नाराबाजी व्यक्ति, पार्टी वा कुनै समूहप्रति लक्षित देखिँदैन । उनीहरूले भ्रष्टाचारीलाई बढी नै सरापेका छन् । बालेन समर्थकको भीड बढेसँगै मतगणना स्थलबाहिर सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । 

नगर प्रहरी गण भृकुटीमण्डपका प्रहरी नायव उपरीक्षक कौशल बुढाथोकी बालेन समर्थकको भीड लागे पनि नाराबाजी शान्तपूर्ण भएको बताउनुहुन्छ । ‘‘अन्य पार्टीका नेता कार्यकर्ताको उपस्थिति पनि बाक्लो छ तर शान्त छन्’’, उहाँले भन्नुभयो । 

प्रमुखमा बालेन र नेकपा (एमाले)बाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले लोकप्रिय मतसाथ अग्रता लिनुभएको छ । एमालेबाट उम्मेदवार घोषणा हुनुअघि पूर्व मिस नेवा डङ्गोलले पनि स्वतन्त्र रूपमा नै प्रमुख पदमा उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

अहिले बालेन र सुनिताले काठमाडौँ महानगरका युवामाझ आफूलाई लोकप्रिय रहेको प्रमाण देखाउँदै हुनुहुन्छ । बालेन समर्थक एक तेस्रो लिङ्गीले भन्नुभयो– ‘‘हाम्रो पीडा यतिका वर्षसम्म राजनीतिक पार्टीहरूले सुनेन् तर बालेन बोल्ने र सुन्ने छन् ।’’

चर्चाका बीच बालेन चर्चित

देशका अन्य महानगरपालिकाभन्दा काठमाडौँ महानरपालिकाको निर्वाचन चर्चामा रहने गर्छ । काठमाडौँ महानगरपालिकाबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरूको पनि देशव्यापी चर्चा र चासो हुन्छ । यसपटक पनि चर्चामा हुनुहुन्छ– स्वतन्त्र उम्मेदवार बालेन, एमालेका केशव स्थापित, काँग्रेसकी सिर्जना सिंह र उपमेयरकी उम्मेदवार सुनिता डङ्गोल । 

प्रमुखका उम्मेदवार स्थापित पूर्वप्रमुख हुनुहुन्छ भने सिर्जना नेपाली राजनीतिको ऐतिहासिक विरासत बोकेको परिवारबाट हुनुहुन्छ । उहाँ सर्वमान्य नेता गणेशमान सिंहकी बुहारी र नेता प्रकाशमान सिंहकी श्रीमती हुनुहुन्छ । 

मधेस–तराई मूल घर भएका स्वतन्त्र उम्मेदवार बालेन पेसाले इन्जिनियर र गायक हुनुहुन्छ । ¥याप गाएर युवाबीच चर्चित बालेनले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएपछि थप चर्चा बढेको हो । सामाजिक सञ्जाल फेसबुक, ट्विटर र टिकटकमा पनि बालेनकै चर्चा बढी देखिन्थ्यो । उहाँका तस्बिरबाट ट्रोलहरू बनिरहेका छन् । समर्थनमा टिकटकहरू बनाइएका छन् । प्रमुख राजनीतिक दलप्रति मतदाताको वितृष्णा जागेको एउटा बलियो उदाहरणका रूपमा यो घटनालाई लिन सकिने कुरा राजनीतिक विश्लेषक बताउँछन् । राजनीतिमा पुरानाभन्दा युवा पुस्ताप्रतिको आकर्षण बढ्दो छ । अघिल्लो स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीबाट प्रमुखका उम्मेदवार युवा नेत्री रञ्जु दर्शना पनि निकै लोकप्रिय बन्नुभएको थियो तर पनि पराजित हुनुभयो ।