• १५ कात्तिक २०८१, बिहिबार

सुनचाँदी पसलमा ग्राहकको भिड

blog

नेपाल राष्ट्र बैङ्कको टक्सार विभागमा सुनचाँदी किन्न लागेको भिड । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, कात्तिक १४ गते । तिहारको चहलपहल सुरु भएको छ तर सुनचाँदी पसलमा भने खासै उल्लास देखिएको छैन । तिहारसँगै मनाइने धन्वन्तरि त्रयोदशीलाई पछिल्लो समय धनतेरसका रूपमा सुनचाँदीको कारोबार गर्ने प्रचलन बढ्दो छ ।

काठमाडौँको नयाँ सडक (न्युरोड) का सुनचाँदी पसलमा मङ्गलबार ग्राहकको भिडभाड त लाग्यो । त्यस्तै नेपाल राष्ट्र बैङ्कको टक्सार विभागबाट पनि ठुलो जनसङ्ख्याले सुनचाँदीका सिक्का किने तर यस पटक बिहीबार लक्ष्मीपूजा परेकाले लक्ष्मीपूजा गर्न सुन र चाँदीका गहना खरिद गर्ने ग्राहकको भिडभाड लागेको हो तर कारोबार भने अघिल्ला वर्ष जस्तो भएन । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार ५० किलो सुनको बिक्री भयो । अरूबेला दैनिक पाँचदेखि १० किलो सुन बिक्री हुने गरेकामा धनतेरसका दिन परेकाले पनि मङ्गलबार सुनको कारोबार बढेको हो । 

महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले धनतेरसको दिन परेकाले बजारमा सुनको कारोबार बढेको जानकारी दिनुभयो । धनतेरसका दिनमा उपभोक्ताले नयाँ गहना किन्ने भएकाले पनि व्यापार सन्तोषजनक भएको उहाँको भनाइ छ । अन्य दिनको तुलनामा मङ्गलबार सुनचाँदीको कारोबार हवात्तै बढेको भए पनि सुनको मूल्य बढेकाले विगतका वर्ष जस्तो कारोबारमा उत्साह नदेखिएको बताउनुभयो । मङ्गलबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपियाँ पुगेको छ । सोमबारको मूल्य प्रतितोला एक लाख ६७ हजार रुपियाँ रहेकामा मङ्गलबार तोलामा एक हजार पाँच सय रुपियाँले बढेको हो ।

मङ्गलबार चाँदीको मूल्य तोलामा ४० रुपियाँ बढेर दुई हजार १०५ रुपियाँ पुगेको महासङ्घले जनाएको छ । धनतेरसको दिनमा चाँदीको व्यापारसमेत बढेको व्यवसायीको भनाइ छ । धनतेरसका दिनमा भाँडावर्तनको व्यापारसमेत बढेको छ । मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य दुई हजार ७५६ डलर पुगेको छ । सोमबार प्रतिऔँस सुनको मूल्य दुई हजार ७३३ डलर रहेको थियो ।

महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले धनतेरसको दिनमा सुनचाँदीको कारोबार सामान्य बढे पनि विगतका वर्ष जस्तो व्यापार नभएको जानकारी दिनुभयो । निरन्तर मूल्य बढेको र उपभोक्ताको क्रयशक्ति नभएकाले अन्य दिनमा बजारमा माग नहुँदा सुनचाँदीको कारोबार बढ्न नसकेको उहाँको भनाइ छ । विगतका वर्ष तिज, दसैँतिहार जस्ता चाडपर्वमा दैनिक ३० देखि ४० किलो सुन बिक्री हुने गरेकोमा यसपालि कारोबार आधाभन्दा बढीले घटेको उहाँको भनाइ छ । 

युक्रेनमाथि रुसको हमला, इरान र इजरायल द्वन्द्व, अमेरिकासहित विश्वका धेरै देशको अर्थतन्त्र शिथिल हुनुलगायतका कारण सुनको मूल्य बढ्दै गएको व्यवसायीको भनाइ छ । आगामी दिनमा पनि सुनको मूल्य थप बढ्न सक्ने विज्ञहरूले अनुमान गरेका छन् । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पछिल्लो एक महिनादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । लगातार सुनको मूल्य बढ्दा उपभोक्तासँगै व्यापारीलाई समेत प्रत्यक्ष असर परेको छ ।