• १५ कात्तिक २०८१, बिहिबार

कात्तिक अन्तिम साता अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने

blog

प्रतियोगीताबारे जानकारी आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे
हिले, कात्तिक १३ गते । 
यही कात्तिक २७ गतेबाट धनकुटाको चौबिसे गाउँपालिकामा हाम्रो राजारानी पुरुष भेट्रान अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ ।

आयोजक संस्था हाम्रो राजारानी भेट्रान राजारानी, धनकुटाले पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गरेको छ । स्वर्गीय ज्ञानबहादुर र बुद्धिमाया लिम्बूको स्मृतिमा चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल भारत र यूकेस्थित भेट्रान फुटबल क्लबसहितको आठ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । ४० वर्षमाथिका खेलाडी सहभागी रहने उक्त खेलमा विजेता टोलीले नगद एक लाख २४ हजार २४ रुपियाँ र उपविजेताले ६४ हजार २४ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् ।

पत्रकार सम्मेलनमा हाल थूकेमा रहनुभएका पूर्व फुटबल खेलाडी तथा भूतपूर्व सैनिक स्थानीय लोकबहादुर चेम्जोङ्गले थूकेस्थित विभिन्न व्यक्तिहरूबाट खेलका लागि सङ्कलित दुई लाख पाँचहजार नगद रकम आयोजकलाई हस्तान्तरण गर्नुभएको थियो ।

चौबिसे गाउँपालिकाको संरक्षण तथा गोरखा ब्रुअरीको मुख्य प्रायोजनमा सम्पन्न हुन लागेको उक्त प्रतियोगितामा ३२ लाख बराबरको अनुमानित खर्च हुने आयोजक संस्थाका अध्यक्ष बिजु राईले जानकारी दिनुभयो ।

जीवनको उत्तरार्धमा पनि खेलको माध्यमबाट स्वस्थ्य रहन सहयोग पुर्‍याउने यस प्रतियोगितामा आफ्नो सधैँ सहयोग रहने भन्दै पालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले खेल सफलताको शुभकामना दिनुभएको थियो ।

खेलसँगै गाउँपालिकाको पर्यटन प्रवर्द्धनका लागि स्थानीय स्तरमा उत्पादित खानाहरूको परिकार, विभिन्न जातीय भेषभुषाहरुको फेसन–सो र स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।