• १३ वैशाख २०८१, बिहिबार

मतदान सकेर यार्सागुम्बा टिप्न लर्को

blog

मनाङ, जेठ २ गते ।स्थानीय तह निर्वाचनअन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँका चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् तर मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडीबुटी (यार्सागुम्बा) सङ्कलनको चटारो परेको छ । 

उनीहरू मतदान सकिएपछि यार्सागुम्बा सङ्कलन गर्न खर्क पुगेका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदान कार्य सकेर खर्क पुगिसकेका हुन् । उनीहरू आइतबारदेखि नै यार्सागुम्बा 

सङ्कलनमा आफूलाई व्यस्त बनाएका छन् । मतदान सकिएको भोलिपल्टै मनाङवासी खर्कतर्फ लागेका हुन् । उनीहरूको मुख्य आयस्रोत जङ्गली औषधिजन्य जडीबुटी यार्सागुम्बा नै हो । जडीबुटी सङ्कलनका लागि उनीहरू अहिले नारफु, नाम्के खर्क, खाङ्सार खर्क पुगिसकेका हुन् । 

“स्थानीय तह निर्वाचनका लागि यार्सा टिप्न बन्द गरिएको थियो । मतदान पनि गरियो । अब यार्सागुम्बा टिप्न खर्कतर्फ लागेका हौँ,” चामे गाउँपालिका–४ का जगबहादुर गुरुङले भन्नुभयो । उहाँले मनाङको विकासका लागि जनप्रतिनिधि चुन्न खर्क छोडेर आएको र मतदान सकेर पुनः खर्कतर्फ फर्किएको बताउनुभयो । 

त्यस्तै गोर्खा घर भई यार्सागुम्बा सङ्कलन गर्न मनाङ पुग्नुभएका सोनाम गुरुङले ‘सिजन’लाई समात्न सक्नुपर्ने भएकाले मतदानमा सहभागी भएर खर्कतर्फ लागेको बताउनुभयो । “समयमै यार्सागुम्बा सङ्कलन गर्न सकिएन भने पछि हराउँछ । त्यही भएर अचेल खर्कतर्फ छिटो फर्किन लागेका छौँ,” उहाँले भन्नुभयो । 

स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मनाङले गत वैशाख २५ देखि ३० गतेसम्म यार्सागुम्बा सङ्कलन कार्य बन्द गराएको थियो । यार्सागुम्बा सङ्कलन बन्द गरिएपछि जिल्लावासी आआफ्ना घर फर्किएका थिए । निर्वाचनमा सहभागी भएर पुनः यार्सागुम्बा सङ्कलनका लागि उनीहरू खर्कतर्फ मतदान सकिएको भोलिपल्टै उक्लिएको स्थानीयवासी बताउँछन् ।

विशेषगरी यो मौसम यार्सागुम्बा सङ्कलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयको रूपमा लिइन्छ । यार्सागुम्बा सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले स्वीकृति पाएपछि समितिमार्फत पुर्जी दिने निर्णय भएको थियो । बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा सङ्कलन गर्न पाइने भएपछि मनाङवासीलाई चटारो परेको हो । 

यार्सागुम्बा सङ्कलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि मानिस खर्क आउने गर्छन् । निर्वाचनमा सहभागी भएर मनाङवासी यार्सागुम्बा सङ्कलन गर्न खर्कतर्फ लागेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार यार्सागुम्बा सङ्कलनमा निस्किएका मनाङवासीको सुरक्षाका लागि खर्कतर्फ पनि सुरक्षाको व्यवस्था गरिएको छ ।

 यार्सागुम्बा सङ्कलन गर्न पुर्जी काटिसकेका स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलनकर्तालाई सहज रूपमा खर्कतर्फ जान दिइएको आचार्यले बताउनुभयो । यार्सागुम्बा सङ्कलन कार्य नाम्केखर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो असारको पहिलो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्न सकिने समय हो । वैशाख १५ देखि असारको पहिलो सातासम्म औषधीजन्य जडीबुटी सङ्कलन गरी मनाङवासी बेँसीतर्फ फर्किनेछन् । 

प्रजिअ आचार्यले यार्सागुम्बा सङ्कलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकता अनुसार नार, फुलगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने तथा अन्य सुरक्षा निकायले सहयोग गर्ने बताउनुभयो । उहाँका अनुसार यार्सागुम्बा 

सङ्कलन गरेको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपुर्जी दिन अनुरोध गरिएको छ । 

यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । मनाङबाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलकहरू र खरिद गर्न आउने व्यक्तिहरूले अनिवार्य रूपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ ।

यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउनसमेत अनुरोध गरिएको छ । गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद–बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको छ । यस वर्ष सहज रूपमा जडीबुटी सङ्कलन हुने भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ ।